१२ श्रावण २०८३, मंगलबार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १६ जनाको आवेदन



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जना आवेदकले आवेदन दर्ता गरेका छन् । अन्तिम दिन मंगलबार साँझसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १६ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, डा. विमल आचार्य, संगीता पहाडी, प्रेम प्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्ण प्रसाद भण्डारी, अनिल कुमार झा, डा. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, सुवास साह, नागेन्द्र कुमार दास, केदार नाथ कोइराला, कमल लामिछाने, रमेश प्रसाद जोशी र सालिकराम सुवेदी रहेका छन् ।

मन्त्रालयले सूचनामार्फत टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको थियो । टेलिकमको प्रबन्ध निर्देशकमा आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनीयरिङ, टेलिकम्युनिकेसन इन्जिनीयरिङ, कम्प्युटर इन्जिनीयरिङ, सिभिल इन्जिनीयरिङ वा मेकानिकल इन्जिनीयरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।