मौद्रिक नीति : विदेशी मुद्रा सटही सुविधामा के-के भए परिवर्तन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा बढाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हाल कायम अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरेको हो ।
मौद्रिक नीतिमार्फत राहदानीवापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्ने उद्घोष गरेको छ ।
डकुमेन्ट असाइनमेन्ट पेमेन्ट र डकुमेन्ट असाइन्मेन्ट एसेप्टेनेन्सको माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिने भएको छ ।
त्यसैगरी, विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गरिने पनि गभर्नर अधिकारीले बताए ।
सेवा आयातवापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने विद्यमान सटही सीमालाई वार्षिक र क्षेत्रगत रुपमा तोकी यससम्बन्धी व्यवस्थालाई सहजीकरण गरिनेछ ।
‘नेपाल सरकारका निकायलाई सार्वजनिक खरिद कानुनबमोजिम गरिएको खरिदको भुक्तानीको लागि आवश्यक पर्ने सटही सुविधामा ड्राफ्ट/टी.टी.को सीमा लागु नहुने एवम् एकभन्दा बढी भुक्तानीको माध्यम प्रयोग गर्न सक्ने गरी सहजीकरण गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।
सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गरि चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।













