१० श्रावण २०८३, आइतबार

बंगलादेशको केन्द्रीय बैंक पुगे प्रदर्शनकारी : डेपुटी गभर्नरले दिए राजीनामा, धमाधम बैंक छोड्दै कर्मचारी

बंगलादेशको केन्द्रीय बैंक पुगे प्रदर्शनकारी : डेपुटी गभर्नरले दिए राजीनामा, धमाधम बैंक छोड्दै कर्मचारी



काठमाडौं । हिंसामा परिणत भएको बंगलादेशका केन्द्रीय बैंकका डेपुटी गभर्नरले राजीनामा दिएका छन् । आक्रोशित आन्दोलनकारीहरूको दबाबमा बंगलादेश बैंकका डेपुटी गभर्नर काजी सइदुर रहमानले राजीनामा बुझाएका हुन् ।

बुधबार बिहानैदेखि बंगलादेशका केन्द्रीय बैंक आन्दोलन सुरु भएको हो । गभर्नर अब्दुर रउफ तालुकदारभने कार्यालय नै नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीहरू सइदुर रहमानप्रति आक्रामक थिए । सुरक्षाको घेरामा रहेका उनीमाथि हातपात भने भएन ।

आक्रोशित प्रदर्शनकारीको मागपछि केन्द्रीय बैंकका चार डेपुटी गभर्नर र वित्तीय गुप्तचर विभागका प्रमुखले ‘राजिनामा’ दिएका छन् । कार्यालयमा रहेकाले यसअघि नै छाडेका छन् ।

आन्दोलनमा सयौं पदाधिकारी तथा कर्मचारी सहभागी भएका थिए । बैंकिङ क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको उनीहरुको दाबी छ ।

महान्यायाधिवक्ता एएम अमिन उद्दिनले पनि राजीनामा दिएका छन् । महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा पत्र बुझाएका हुन् । बुधबार दिउँसो १२:३० बजे उनले व्यक्तिगत कारण देखाउँदै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्सेदले पनि मंगलबार बिहान राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा व्यक्तिगत र स्वास्थ्य कारण पनि उल्लेख गरेका छन् ।

यसैबीच नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना अहिले भारतमा रहेकी छन् । अमेरिकाले उनको भिसा अस्वीकृत गरेको बताइएको छ भने उनले बेलायतमा शरण मागेको र यसको प्रक्रिया चलिरहेको बताइएको छ ।