यामाहाले भित्र्यायो युवा लक्षित नयाँ बाइक, यस्तो छ फिचर्स
यामाहाले भित्र्यायो युवा लक्षित नयाँ बाइक, यस्तो छ फिचर्स
काठमाडौँ । यामाहाले युवाको सर्वाधिक रोजाइमा पर्ने बाइक ‘एमटी १५’ को अपग्रेडेड भर्सन बजारमा ल्याएको छ । १५५ सीसी क्षमताको यो मोटरसाइकलको भर्सन २ (भी टु) नेपाली बजारमा ५ लाख ४९ हजार ९०० रुपैयाँमा विक्री भइरहेको छ ।
औपचारिक रुपमा यो बाइक नेपालमा ‘लञ्च’ नभए पनि केही मोटरसाइकल विक्री भइसकेको नेपालका लागि यामाहाको वितरक एमएडब्ल्यू इन्टरप्रयाइजले जनाएको छ ।
भारतमा यो भर्सनमा पनि भिन्नभिन्न ३ भेरिन्टमा मोटरसाइकल ल्याइएको छ । नेपालमा भने अहिले एकै भेरियन्टको मात्रै भित्रिएको कम्पनीले जनाएको छ । यसको खुद्रा मूल्य भारतीय बजारमा भने भारु. १ लाख ६८ हजार (नेरु. २ लाख ६९ हजार) पर्छ । तर नेपालको कर, ढुवानी, बीमा इत्यादि कारणले मोटरसाइकलको मूल्य महँगो पर्न गएको हो ।
यो एमटी १५ को उन्नत भर्सन हो । यस बाइकमा युएसडी अपग्रेटेड फिचर्स राखिएको छ । यो प्रिमियम बाइकहरुमा मात्र हुने फिचर्स हो । पावर पनि बढेको छ । कम्पनीले १८.४ पीएस पावर दिने घोषणा गरेको छ । यसले उच्च स्तरको एक्सिलेटरमा १४.१ न्युटन मिटर (एनएम) टर्क उत्पन्न गर्नसक्छ ।
यो मोटरसाइकल १८ देखि २५ वर्ष उमेर समूहका युवाको क्रेज असाध्यै राम्रो छ । नाडादेखि औपचारिक रुपमा देशभर उपलब्ध हुने छ । अहिले सीमित शोरुमहरुमा मात्रै उपलब्ध छ ।
सुरक्षा फिचर्स र अत्याधुनिक प्रविधिलाई जोड दिइएको छ । बाइ कनेक्ट अर्थात् फोनसँग कनेक्ट गर्ने प्रविधि जडित छ । ट्राक्सन कन्ट्रोल सिस्टम पनि छ । यसले तीव्र गतिमा चलिरहेको बेला मोटरसाइकललाई हल्लिनबाट रोक्छ ।
ड्युअल एबीएस भएकाले मोटरसाइकल चिप्लिने वा लड्ने जोखिम कम हुन्छ । यामाहाका १५० सीसी सेग्मेन्टमा कि त पछाडी ड्रम ब्रेक छ, त्यसो नभएर डिस्क ब्रेक नै भए पनि अगाडीको चक्कामा मात्रै एबीएस राख्ने गरिएको थियो । तर यो मोटरसाइकलमा दुबै चक्कामा एबीएस जडित छ ।
यसले मोटरसाइकल झ्याप्पै रोक्नुपर्दा वा पानीमा चलाउँदा पनि ब्रेक लगाउँदा बाइक चिप्लिने, पछारिने संभावना कम हुन्छ । यसले यात्रुको सुरक्षालाई बढी ध्यान दिएको छ । सक उल्टो भएकाले बढी लचकदार हुन्छ ।
बीएस (भारत स्ट्याण्डर्ड) सिक्स भएका कारण यो वातावरण मैत्री पनि छ । यामाहाका सबै बाइक एफआई (फ्युल इन्जेक्टर) प्रणाली जडित छन् । यसमा पनि यही प्रणाली जडान गरिएको छ । यसले कार्बोरेटर इन्जिनको तुलनामा १३ प्रतिशतभन्दा बढी इन्धन बचत हुने कम्पनीको दाबी छ । यसले चिसो मौसममा पनि सजिलैसँग मोटरसाइकल स्टार्ट हुन्छ ।

इञ्जिनले मागेजति इन्धन उपलब्ध गराउने यो प्रणाली भएका बाइकमा ‘चोक’ हुँदैन । चोक तानेपछि बढी इन्धन इन्जिनमा पुगेर स्टार्ट हुने हो । तर एफआई प्रविधिले बाहिरको तापक्रमलाई मापन गरेर त्यस्तो अवस्थामा इन्जिन स्टार्ट गर्न कति इन्धन आवस्यक पर्छ भन्ने मूल्यांकन गर्छ र पर्याप्त इन्धन इन्जिनमा पठाउँछ । यही कारण चोकको आवस्यकता नै पर्दैन ।
अहिले यो मोटरसाइकलको मूल्य ५ लाख ४९ हजार ९०० छ । भी टुको यो बाइक नेपालमा यसै सातामात्र भित्रिएको हो । यो मोटरसाइकल आसन्न नाडा अटो शोमा पनि राखिने छ । त्यहाँ यामाहाको शो–केश बाइक नै यही हुने छ । नाडामा अरु पनि बाइक ल्याउने तयारी त भएको छ, तर त्यसबारे अझै निक्र्योल भइसकेको छैन ।
यो मोटरसाइकलले बजाजको पल्सर एनएस २०० सँग प्रतिस्पर्धा गर्ने ठानिएको छ । एनएसको प्रिमियम भर्सनको मूल्य ४ लाख १ हजार ९०० छ । यसका अलावा ‘एमटी १५’को माइलेज पनि असाध्यै राम्रो छ । यो मोटरसाइकलले प्रतिलिटर ४५ किलोमिटरभन्दा बढी माइलेज दिन्छ । यद्यपि, कम्पनीले प्रतिलिटर ५६.८७ किलोमिटर माइलेज दिने दाबी प्रस्तुत गरेको छ ।
बाइक हलुका बाइक भएकाले पनि माइलेज बढी भएको हो । यो बाइकको कुल तौल १४१ किलो छ । यस्ता यावत सुविधा र आकर्षक डिजाइनका कारण यस मोटरसाइकलमा धेरैको आँखा लागेको छ । कम्पनीले लञ्च नै नगरी ग्राहकहरु बुझ्न आउने र मोटरसाइकल किन्ने गरिरहेका छन् ।

यसको डिजाइन एक्सपेक्टका कारण युवा वर्गले बढी मन पराएका हुन् । साथै प्रविधि र फिचर्स पनि आधुनिक भएका कारण उनीहरुको रोजाइमा ‘एमटी १५’ पर्दै आएको छ । मुल रुपमा लुक्सले युवालाई बढी अपिल गरेको छ ।
बजारमा रहेका अन्य मोटरसाइकलको तुलनामा यो बाइक निकै महँगो छ । यसलाई कम्पनीले आर १५ जस्तै प्रिमियम मोटरसाइकलमा गणना गर्छ । आर १५ पनि यामाहाकै रेसिङ बाइक हो, यसको भी फोर बीएस सिक्सको मूल्य ६ लाख २० हजार पर्छ ।
यामाहाको सबैभन्दा बढी बिक्ने बाइक एफजेटको भी थ्री हो । यो मोटरसाइकलमा कम्पनीले १० वर्षको इन्जिन वारेन्टी दिएको छ । यो वारेन्टी एफआईका लागि हो । नेपालमा एफआई बाइक भित्र्याउने नै यामाहा हो । तर अहिले धेरैजसो कम्पनीले एफआई बाइक भित्र्याइसकेका छन् ।
यामाहाले एफआई बाइक भित्र्याउन थालेको १५ वर्ष भएको अवसरमा १० वर्षे वारेन्टी सुविधा अघि सारेको हो । यो वारेन्टी नेपालमै एसेम्बल भएका मोटरसाइकलमा उपलब्ध छ । तर यो वारेन्टी दाबी गर्न लडेको, दुर्घटना भएको, सुरुमा किनेपछि अर्को व्यक्तिलाई बेचिएको हुन नहुने र १ लाख किलोमिटरभन्दा कममात्रै गुडेको जस्ता शर्त भने कम्पनीले राखेको छ ।
तर एमटी १५ भी टुमा भने यो १० वर्षे वारेन्टी लागू भएको छैन । यो बाइक नेपालमा एसेम्बल नभएर भारतबाटै आउने भएकाले त्यसमा १० वर्षे एफआई वारेन्टी लागू नहुने कम्पनीले जनाएको छ । यसमा भने २ वर्षको मात्रै वारेन्टी छ ।













