आरक्षणको विषयलाई लिएर भारत बन्द आह्वान, धेरै राज्य प्रभावित
आरक्षणको विषयलाई लिएर भारत बन्द आह्वान, धेरै राज्य प्रभावित
काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज (अगस्ट २१ मा) भारत बन्द आह्वान गरेका छन् । यो बन्दको प्रभाव धेरै राज्यमा देखिएको छ । बिहार र झारखण्डमा धेरै सेवाहरू प्रभावित भएका छन्। झारखण्डमा बस सेवा नराम्ररी प्रभावित भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बसहरू बस स्ट्यान्डबाट बाहिर निस्कन सकेका छैनन्।
दलित संगठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि समर्थन गरेका छन् । बहुजन समाज पार्टीकी प्रमुख मायावतीले सर्वोच्च अदालतको फैसलामा संविधान संशोधन गर्न सरकारसँग माग गर्दै हिंसाविहीन शान्तिपूर्ण रुपमा भारत बन्द गर्न अपिल गरिन् ।
बन्दलाई ध्यानमा राख्दै प्रशासनले राजस्थानका धेरै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । राज्यका धेरै जिल्लाका शैक्षिक संस्था बन्द गर्न आदेश जारी गरिएको छ । उत्तर प्रदेशको राजधानी लखनउमा निषेधाज्ञा जारी गरिएको छ र प्रशासनलाई बन्दका क्रममा कुनै पनि किसिमको हिंसा नगर्न निर्देशन दिइएको छ ।
मध्य प्रदेशको प्रशासनले भारत बन्दका बेला विशेष सावधानी अपनाउन निर्देशन दिएको छ ।
यसअघि २ अप्रिल २०१८ मा दलित संगठनहरूले आह्वान गरेको भारत बन्दमा मध्य प्रदेशमा धेरै ठाउँमा हिंसा भड्किएको थियो । जसमा ६ जनाको मृत्यु भएको थियो।
भारत बन्दलाई लिएर यूपीमा पनि सुरक्षा व्यवस्था गरिएको छ। केही राजनीतिक दलले पनि यो बन्दलाई समर्थन गरेका छन् । बहुजन समाज पार्टीकी अध्यक्ष मायावती र आजाद समाज पार्टीका चन्द्रशेखरले बन्दलाई समर्थन गरेका छन् ।
धेरै ठाउँमा जिल्ला अधिकारीले कुनै पनि किसिमको हिंसा हुन नदिन र यो आन्दोलनलाई शान्तिपूर्ण रुपमा समाधान गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।













