एमसीसी परियोजना : यी हुन् हालसम्म भएका प्रगति
काठमाडौँ । एमसीसी कम्प्याक्ट परियोजना तोकिएकै समयमा परियोजना सक्ने गरी काम भइरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए–नेपाल) ले जनाएको छ। बुधबार परियोजनाको एकवर्षे प्रगति सार्वजनिक गर्दै एमसीए नेपालले यस्तो जनाएको हो ।
एमसीए–नेपाल र अमेरिकी दूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा हालसम्म विद्युत् प्रसारण आयोजना, तीन सबस्टेसनका लागि ठेक्का सम्झौता, सडक मर्मतसम्भार, आयोजना तथा निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनामा उल्लेख्य प्रगति भएको एमसिए नेपालले जनाएको छ ।
ऊर्जा र सडक पूर्वाधारका लागि अमेरिकी सरकारबाट प्राप्त ५०० मिलियन अनुदान सम्झौताअनुसार उक्त परियोजना अघि बढाइएको हो। नेपालको संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएर कार्यान्वयन अघि बढाउने क्रममा सन् २०२३ को अगस्ट ३० अर्थात् गत भदौ १३ गतेबाट सुरु भएको थियो । उक्त परियोजना पाँच वर्ष सकाउनुपर्ने गरी सम्झौता भएको छ ।
एमसीए–नेपालका अनुसार विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमि लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ०८१ साउनमा ठेकेदार छनोट भइसकेको छ । त्यसैगरी, परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइनको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकतासाथ अगाडि बढाउने काम भएको एमसीए नेपालले जनाएको छ।
नवलपरासी पश्चिममा नयाँ बुटवल सबस्टेसन ०८१ साल वैशाखमा ३ करोड ५५ लाख १० हजार डलरमा सम्झौता भइसकेको जनाइएको छ । त्यस्तै, नुवाकोटको रातमाटे सबस्टेसन ०८१ असारमा ५ करोड १६ लाख डलरमा सम्झौता भएको छ भने तनहुँको नयाँ दमौली सबस्टेसन ०८१ साउनमा ३ करोड ८८ लाख ९० हजार डलरमा सम्झौता भइसकेको छ।
त्यस्तै, २९७ किमि प्रसारण लाइनका लागि यस वर्ष फेरि बोलपत्र आह्वान गरिने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।













