२७० मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिदैँ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२७० मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिदैँ



रसुवा । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट), माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजनाको (४२.५ मेगावाट) गरी १६८.३ गरी २७०.३ मेगावाट विद्युत एक महिनाभित्र राष्ट्रिय प्रसारण ग्रीडमा जोडिनेछ ।

लामो समयदेखि प्रसारण लाईनमा समस्या देखिएपछि उर्जामन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाईन तथा सवस्टेशनको स्थलगत निरीक्षण गरेका थिए ।

सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाईन निर्माणको प्रभावकारी सम्झौता भएपनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सव स्टेशन बन्न नसक्दा निर्माण कार्य सम्पन्न भएर सञ्चालन हुन नसकेका आयोजनाहरुबाट राज्यलाई दैनिक करोडौँ नोक्सानी भइरहेको थियो ।

मन्त्री खड्काले प्रसारण लाईन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताए । ‘गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाई हुँदा जनताहरु प्रतक्ष्य मारमा परेका छन्, अब हेलचक्र्याँई गर्ने ठाउँ छैन’, उर्जामन्त्री खड्काले भने ।

नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशुली थ्री बी हव २२०-१३२-३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०-१३२-३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत खेर गइरहेको थियो ।

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत त्रिशुली थ्री बी हव २२०-१३२-३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत काठमाडौँको मातातीर्थ सवस्टेशनमा पु¥याइनेछ ।

चिलिमे हवदेखि त्रिशुली हवसम्मको २८ किलोमिटर लम्बाई भएको प्रसारण लाईनमध्ये २० किलोमिटर लम्बाईको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटर लम्बाईको चार सर्किट लाईन (२४ वटा टावर) रहेका छन् ।

चार सर्किट लाईन रहको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशुली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युतलाई त्रिशुली थ्रि वी हवसम्म जोडि राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत प्रवाह गरिनेछ ।

प्रसारण लाईनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेशन निर्माण भएतापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मीटर लम्बाई), मैलुङ बेसी (१२३५ मीटर लम्बाई) र हाकु (१४०० मीटर लम्बाई)मा तार तान्ने कार्य भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्