सुपर मादी हाइड्रोपावरको साधारण सभा आज, लाभांश पारित गर्दै
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीले सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बस्ने भएको छ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
सभाले कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसका प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज गरेको छ।













