अपि पावरको नाफामा एकाएक कसरी आयो उछाल ?
काठमाडौं । अपि पावर कम्पनीको नाफामा व्यापाक सुधार आएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको नाफा गत आवको पहिलो त्रैमासमा ४० लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १८ करोड १७ लाख रुपैयाँ धनात्मक छ ।
कम्पनीको विद्युत बिक्री आम्दानी ह्वात्तै वृद्धि भएपछि नाफामा सुधार आएको हो । चालु आवको तीन महिनामा कम्पनीले ४७ करोड ५२ लाख २८ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ ।यो गत आवको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी २६ करोड १६ लाख रुपैयाँ मात्रै थियो ।
यता, कम्पनीको कुल नाफा पनि ९६.४९ प्रतिशत वृद्धि भई ४३ करोड २५ लाख रुपैयाँ कायम भएको छ भने संचालन नाफा पनि १५८.३६ प्रतिशत वृद्धि भई ३९ करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, गत आवको पहिलो त्रैमासमा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी (इपिएस) पनि धनात्मक छ । हाल कम्पनीको इपिएस १२ रुपैयाँ ५६ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने ११२ रुपैयाँ ६५ पैसा छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ छ ।













