सीइडीबी हाइड्रोपावरको नाफा २०० प्रतिशत बढ्यो, इपिएस पनि वृद्धि
काठमाडौं । सीइडीबी हाइड्रोपावर कम्पनीको नाफामा उछाल आएको छ । कम्पनीको नाफामा २०० प्रतिशत वृद्धि भएको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
तीन महिनामा कम्पनीले ९ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २०२.२८ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी बढेसँगै खुद नाफामा बढोत्तरी आएको छ । कम्पनीको आम्दानी १४५.९२ प्रतिशत वृद्धि भई १० करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यो आम्दानी सेवा शुल्क, ब्याज र अन्य आम्दानीसहितको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८० पैसा बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको ।
हाल कम्पनीको १ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको जगेडा कोषमा ४८ करोड ६० लाख रुपैयाँ राखेको छ ।













