बजेट कार्यान्वयनमा निजी क्षेत्रको सक्रियता, ‘सिएनआई बजेट वाच’ मार्फत प्रभावकारिता बढाउने अभियान
काठमाडौं । सरकारले ल्याउने वार्षिक बजेटको प्रभावकारी कार्यान्वयन मार्फत देशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्न नेपाल उद्योग परिसंघ (सिएनआई) ले ‘बजेट वाच’ पहललाई चौथो वर्ष पनि निरन्तरता दिएको छ ।
परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले बजेट कार्यान्वयनलाई नजिकबाट ट्रयाक गर्ने र सुधारका सुझाव दिने उद्देश्यसहित ‘बजेट वाच’ पहल अझ सशक्त ढंगमा अघि बढाइएको जानकारी गराए ।
‘बजेटमा निजी क्षेत्रका सुझाव समेटिन्छन्, तर कार्यान्वयन कमजोर हुने विगतको अनुभव छ’ अध्यक्ष पाण्डेले भने, ‘त्यही अनुभवका आधारमा निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक ठहर गर्दै हामीले बजेट वाच सुरु गरेका हौं ।’
विगत आर्थिक वर्षको मूल्याङ्कन गर्दा, निजी क्षेत्रसँग सम्बन्धित ६३ वटा बुँदामध्ये २५.४ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएका पाइएको छ, जबकि २७ प्रतिशतमा कुनै प्रगति नभएको पाण्डेले जानकारी गराए ।
चालु वर्षको बजेटमा समेटिएका ७४ वटा मुख्य बुँदाहरूलाई सात वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी कार्यान्वयन अवस्थाबारे विश्लेषण गरिने अध्यक्ष पाण्डेले जनाए । उनका अनुसार प्रत्येक क्षेत्रमा सम्बन्धित मन्त्रालय, विज्ञ र सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गरिनेछ ।
परिसंघले आगामी एक दशकमा नेपालको अर्थतन्त्रलाई ४४ अर्ब डलरबाट १०० अर्ब डलरसम्म पु¥याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि दोहोर अंकको आर्थिक वृद्धि, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण अनिवार्य भएको अध्यक्ष पाण्डेले बताए ।
सरकारले बजेट कार्यान्वयनका लागि मन्त्रालयगत नियमित रिपोर्टिङ प्रणाली लागू गर्न थालेकोप्रति प्रसन्नता व्यक्त गर्दै पाण्डेले भने,‘बजेट कार्यान्वयनमा निजी क्षेत्रको साथ र सुझाव आवश्यक छ भने, सिएनआई त्यसका लागि पूर्ण रूपमा तयार छ ।’
उनका अनुसार ‘बजेट वाच’ अन्तर्गत नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा बजेट कार्यान्वयन रिपोर्ट पनि तयार पारिनेछ ।
अध्यक्ष पाण्डेले मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख र विज्ञहरूसँग प्रत्यक्ष बहस र छलफल गर्ने कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरिने जानकारी गराए ।















