कर्णालीका उद्योगी व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण, आर्थिक वातावरण बनाउन सरकारी पहल नपुगेको गुनासो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्णालीका उद्योगी व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण, आर्थिक वातावरण बनाउन सरकारी पहल नपुगेको गुनासो



काठमाडाैं। उद्योग व्यवसायमा लगानी आकर्षित गर्न सरकारी पहल नपुगेको गुनासोसहित कर्णालीका उद्योगी व्यवसायीले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

जल, जंगल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै उद्योग व्यवसायीहरुले सरकारको यस कार्यले निराशा छाएको दुःखेसो गरेका छन्। सुर्खेत वीरेन्द्रनगरमा सोमबार पत्रकार भेटघाट कार्यक्रममार्फत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले कोभिड, भूकम्प, जेनजी प्रदर्शन, अन्तर्राष्ट्रिय मूल्य वृद्धि, बैंकको उच्च ब्याजले थला परेको निजी क्षेत्रको मनोबल उठाउन प्रदेश सरकारले भूमिका नखेलेको दुःखेसो गरे ।

उद्योग, कलकारखाना, लगानी र पूर्वाधारको अभावमा पछाडि परेको कर्णालीमा प्रदेश सरकारले गरेका निर्णय, लिइएका नीतिहरुले निजी क्षेत्रमा थप चोट दिएको दोषारोपण गर्दै उनले यहाँको विकास र समृद्धिमा सहयोग पुयाउन ध्यानाकर्षण पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको जनाए ।

पत्रमा कर्णाली राजमार्ग सुधारसहित २४सै घण्टा निर्वाध रुपमा सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा स्टार्टअफ उद्यमी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग छन्। कर्णालीको आन्तरिक नियमित हवाई उडान सञ्चालन हुनुपर्ने, कर्णाली सरकारको होटलमा कार्यक्रम नगर्ने निर्णयको पुनरावलोकन गर्नुपर्ने, कोसेली गृह निःशुल्क रुपमा सञ्चालन तथा नीतिगत सुधार हुनुपर्ने, मेला महोत्सवको सञ्चालन निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने भन्ने माग राखिएको छ।

कर्णाली प्रदेशस्तरीय औद्योगिक पर्यटन, उद्योग तथा व्यापार प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, स्थानीय कृषि तथा उद्यमी प्रवर्द्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन, लघु औद्योगिक ग्रामका उद्यमी प्रवर्द्धनका लागि हालको भाडा दर घटाउनुपर्ने र सम्झौता अवधि बढाउनुपर्ने माग छ।

कर्णाली राजमार्ग क्षेत्रका मुख्य बजार क्षेत्रमा होटल व्यवसाय २४सै घण्टा गर्न पाउनुपर्ने विषय ध्यानाकर्षणमा पत्रमा उल्लेख गरिएको चेम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि कँडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्