थातथलोमै एमबीबीएस पढाउँदै बीएण्डसी, प्रसाईंलाई एक दशक झुलाएको कलेजले कोटा बढाउने
काठमाडौँ । डा. गोविन्द केसीले गलत मागहरु राखेर बारम्बार अनसन बस्न थालेपछि सरकारसँगको सम्बन्धन विवादमा करीब १३ वर्ष गुजारेको झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबीबीएस) तहको पढाइ सुरु गरेको एक वर्ष पुगेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्ना पारिवारिक साझेदारीमा करीब ६ अर्ब रुपैयाँ खर्चेर बनाएको यो मेडिकल कलेज नेपालमात्रै होइन, दक्षिण एसियाकै उत्कृष्ठ पूर्वाधार भएका मेडिकल कलेजमध्ये एक हो ।
विसं २०६८ माघ १४ गते सरकारबाट आशयपत्र पाएपछि यति भव्य र व्यापक संरचना बनाएका प्रसाईँले लामो समयदेखि सम्बन्धन पाउन नसकेर पठनपाठन रोकिएको थियो । अर्कातिर नेपाली विद्यार्थीहरु पचासौँ लाख रुपैयाँ खर्चेर बाङ्लादेश, चीन र आसियान राष्ट्रहरुमा एमबीबीएस गर्न धाउनु परेको थियो ।
बीएण्डसी मेडिकल कलेजले पहिलो ब्याचमा ५० जना विद्यार्थी भर्ना गरेर २०८१ पुस २५ गतेदेखि एमबीबीएसको कक्षा सुरु भएको थियो ।
यो मेडिकल कलेज सञ्चालनमा आएसँगै अहिले झापाका मात्रै ७ जना विद्यार्थीले आफ्नै गाउँमा एमबीबीएस पढ्ने अवसर पाएको खबर राष्ट्रिय समाचार समितिलाई उद्धृत गर्दै विभिन्न सञ्चारसंस्थाले प्रकाशन गरेका छन् ।
यसरी गृहजिल्लामा अध्ययन गर्न पाउनेहरुमा ऋतिका शिवाकोटी, देवांशु पोखरेल, चिजन कोइराला, राजेन्द्र मैनाली, निशा उप्रेती, अञ्जली शाह र आदित्य थापा रहेका छन् । आफ्ना सन्तानलाई घरनजिकैको कलेजमा डाक्टर पढाउन पाउँदा अभिभावकहरु पनि औधि खुसी खुसी भएको खबरहरु आएका छन्।
प्रसाईंले यो संरचना तयार पारेर कलेज सञ्चालनका लागि एक दशकभन्दा ज्यादा समय प्रतीक्षा गर्नुपरेको थियो । अन्तत: सर्वोच्च अदालतले विसं २०८० चैत १२ गते र पुन: २०८१ जेठ २५ गते परमादेश जारी गरेपछि यो कलेजले सम्बन्धन र विद्यार्थी कोटा पाएको हो । पूर्वाधार र गुणस्तरका आधारमा आफूहरुको कलेज मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने लक्ष्य लिएको प्राचार्य प्रा. डा. उमेश शर्माले भनेका छन् ।
बिर्तामोड–५ मा दुर्गा प्रसाईं, रामबाबु गिरी र इन्दिरा गिरीले वि.सं. २०७१ मै संरचना तयार पारेर अस्पताल सञ्चालन गर्न थालेको हो । कलेज भने सरकारी सम्बन्धनको अभावमा सञ्चालनमा आउन सकेको थिएन । यो अस्पताल घुमेमा मानिसहरुले सामाजिक सञ्जालमा ‘दक्षिण एसियाकै उत्कृष्ठमध्येको एक’ भनेर प्रसंसा गर्दै आएका छन् । सुरुमा अर्थात् ११ वर्ष अघि ३०० शय्याबाट सुरु भएको यो अस्पताल अहिले १,००० शैय्यामा विस्तार भइसकेको छ ।
विसं २०८२ देखि भने विद्यार्थी कोटा बढाएर ६० पुर्याउन लागिएको कलेज प्रशासनले बताएको छ ।













