वीरगञ्जको भन्सारबाट ६ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड राजस्व, पेट्रोलियम र सवारीमा मात्र करिब ५२ अर्ब
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । तर, यहाँको राजस्व संकलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै ६ महिनामा ३७ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको छ ।
दोस्रो धेरै राजस्व संकलन यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने १३ अर्ब ९८ राजस्व रुपैयाँ संकलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए ।
चालु आवको ६ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट ६ अर्ब ८३ करोड रुपैयाँ, कपडा आयातबाट ५ अर्ब २६ करोड रुपैयाँ, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै मदिराजन्य पेयपदार्थको आयातबाट भने १ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । शृङ्गारको सामानबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ ।













