बजेट कार्यान्वयन निराशाजनक, ७४ बुँदामध्ये ९ मात्र पूर्ण कार्यान्वयन, २० शून्य
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका आर्थिक क्षेत्रसँग सम्बन्धित बुँदाहरूको कार्यान्वयन अवस्था निकै सुस्त देखिएको छ ।
नेपाल उद्योग परिसंघ (क्यान) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संयुक्तरूपमा आयोजना गरेको ’बजेट वाच’ कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार बजेटका ७४ बुँदामध्ये दोस्रो त्रैमासिक (कात्तिक–पुस) सम्ममा मात्र ९ वटा बुँदा पूर्ण रूपमा कार्यान्वयन भएका छन् ।

परिसंघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बजेटका ४५ बुँदामा आंशिक प्रगति देखिएको छ भने २० वटा बुँदामा शून्य प्रगति रहेको छ । विशेष गरी उद्योग, ऊर्जा, पूर्वाधार र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रका कार्यक्रमहरूको गति सुस्त पाइएको छ ।
उद्योग तफर्पका कुल २७ बुँदामध्ये जम्मा ५ वटा मात्र पूर्ण कार्यान्वयन भएका छन् भने १४ वटा आयोजना आंशिर र ८ वटा भने शून्य प्रतगि भएको सर्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।
ऊर्जा र पूर्वाधारको १४ बुँदामध्ये ३ वटा मात्र पूर्ण कार्यान्वयन, ३ वटामा शून्य प्रगति र ८ वटा भने आंशिक कर्यान्यवन भएको क्यानले जनाएको छ ।
कृषि तथा जडीबुटी, पर्यटन, वित्तीय क्षेत्र, श्रम, रोजगार र शिक्षाको आयोजना मध्ये एउटा पनि पूर्ण रुपमा कार्यान्यवन नभएको अध्ययमा उल्लेख छ ।
सूचना प्रविधिको ६ बुँदामध्ये १ वटा मात्र पूर्ण कार्यान्वयन भएको छ भने ३ वटा आशिंक र २ वटामा भने शूख्य प्रगति भएको अध्ययमा उल्लेख छ ।
बजेट कार्यान्वयनको अवस्थालाई तीन श्रेणीमा परिभाषित गरिएको थियो । ’शून्य प्रगति’ भन्नाले काम नै सुरु नभएको वा घोषणामा मात्र सीमित रहेको अवस्थालाई बुझाइएको छ । त्यस्तै, ’आंशिक प्रगति’ भन्नाले बैठक बसेको र कार्यविधि बनेको तर ठोस काम नभएको अवस्था हो भने ’पूर्ण कार्यान्वयन’ भन्नाले घोषणा भएर कार्यान्वयनमा गइसकेको अवस्थालाई जनाउँछ ।














