अर्थमन्त्री खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थमन्त्री खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल



काठमाडौँ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिहरूबीच बिहीबार अर्थ मन्त्रालयमा समसामयिक आर्थिक विषयमा समीक्षात्मक छलफल सम्पन्न भएको छ। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग व्यापार महासंघका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रले पुर्‍याएको सहयोग र पृष्ठपोषणका लागि आभार व्यक्त गर्दै व्यावसायिक वातावरणमा सुधार आएको बताए। आफ्नो कार्यकालको सुरुवाती दिनमा भदौ २३ र २४ गतेको आन्दोलनका कारण खस्किएको निजी क्षेत्रको मनोबल र बिग्रिएको वातावरणलाई सबैको साझा प्रयासबाट सुधार्न सफल भएको उनले बताए।

मन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न, घरेलु उद्योगको संरक्षण र निर्यात प्रवर्द्धनका लागि प्राप्त भएका सुझावमध्ये केही सम्बोधन भइसकेको जानकारी दिए। नीतिगत जटिलताका कारण आफ्नो कार्यकालमा अर्थ मन्त्रालयबाट सम्पादन हुन बाँकी रहेका कार्यहरू भने आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गर्ने उनले बताए।

सो अवसरमा निजी क्षेत्रका नेतृत्वले अर्थमन्त्रीले व्यवसायीका मुद्दामा देखाएको चासोको प्रशंसा गर्दै मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताए। हालै सम्पन्न निर्वाचनले दिएको नतिजा र भयरहित वातावरणमा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भएकोमा उनीहरूले खुसी व्यक्त गरे।

यद्यपि, निजी क्षेत्रले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्नुपर्ने र कच्चा पदार्थ तथा तयारी वस्तुको आयात करमा कम्तीमा दुई तहको अन्तर हुनुपर्ने माग अझै सम्बोधन हुन बाँकी रहेको बताए। सरकारले वजनरहित र सीमारहित उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने, नियमनकारी निकायको प्रभावकारिता परीक्षण गर्नुपर्ने र अन्तःशुल्कका उच्च दरहरू घटाउनुपर्ने विषयमा उनीहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराए।


प्रतिक्रिया दिनुहोस्