२० श्रावण २०८३, बुधबार

आर्थिक यथार्थ र नीतिको सन्तुलन: ब्याजदर घटे पनि किन बढेन कर्जाको माग?



ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु कुनै नीतिगत सफलताको सूचक मात्र नभई खस्कँदो व्यावसायिक आत्मविश्वासको परिणाम हो, जसलाई उकास्न आदर्श र व्यावहारिक यथार्थबीचको सन्तुलन अपरिहार्य हुन्छ।

अर्थमन्त्रीज्यूले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग ब्याजदर घट्दै जाँदा पनि कर्जाको माग किन बढेन भनी चाल्नुभएको प्रश्नले मेरो मष्तिष्कमा एउटा फरक दृष्टिकोण जन्माएको छ।

यो विषयलाई हामीले केवल सतही रूपमा मात्र नभई गहिरो आर्थिक कोणबाट विश्लेषण गर्नुपर्ने बेला आएको छ। ब्याजदर घटेको कारणले कर्जाको माग नबढेको होइन, बरु बजारमा कर्जाको माग नै कमजोर भएका कारण महिनापिच्छे ब्याजदर घट्दै गएको पनि त हुन सक्छ।

अर्थात्, घट्दो ब्याजदर कुनै नीतिगत सफलताको मात्र परिणाम नभई कमजोर व्यावसायिक आत्मविश्वासको उपज पनि हुन सक्छ।

व्यावसायिक आत्मविश्वासको संकट

यदि हाम्रो मुख्य समस्या आत्मविश्वासको हो भने, यसको समाधान केवल ब्याजदर घटाएर मात्र सम्भव हुँदैन। जबसम्म व्यवसायीहरूमा लगानी विस्तार गर्ने, नयाँ उद्योगहरू खोल्ने र सर्वसाधारणमा भविष्यप्रति आशावादी भएर उपभोग तथा कर्जा लिने साहस जुट्दैन, तबसम्म अर्थतन्त्र गतिशील बन्न सक्दैन।

त्यसैले, आजको मुख्य प्रश्न ब्याजदर कति घट्यो भन्ने हुनुभन्दा पनि व्यावसायिक आत्मविश्वास किन घटिरहेको छ भन्ने हुनुपर्छ। जब यो आत्मविश्वास पुनः फर्किन्छ, तब कर्जाको माग, लगानी र सम्पूर्ण आर्थिक गतिविधिहरू पनि स्वाभाविक रूपमा लयमा फर्किन थाल्छन्।

अनौपचारिक अर्थतन्त्र र मागको रिक्तता

यस विषयको अर्को पाटो अझ बढी जटिल छ। पारदर्शिता, सुशासन र भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको नीति पूर्ण रूपमा सही दिशा हो र यसमा कुनै पनि दुईमत हुन सक्दैन।

तर, आर्थिक व्यवहारको दृष्टिकोणबाट विचार गर्दा, नेपालजस्ता विकासोन्मुख देशहरूमा अनौपचारिक अर्थतन्त्र लामो समयदेखि एउटा यथार्थ बनेर बसेको छ। नैतिक दृष्टिकोणले अनुचित वा गलत स्रोतबाट आएको भए पनि त्यस्तो पुँजीले रेस्टुरेन्ट, होटल, खुद्रा व्यापार, सवारी साधन, घरजग्गा र सुनलगायतका क्षेत्रमा प्रवाह भई आर्थिक चक्रलाई घुमाइरहेको थियो।

जब त्यस्तो किसिमको वित्तीय प्रवाह एक्कासी रोकिन पुग्छ, तर औपचारिक अर्थतन्त्रले तुरुन्तै त्यसको स्थान ओगटेर रिक्ततापूर्तिको काम गर्न सक्दैन, तब त्यसको गम्भीर असर समग्र माग, व्यावसायिक आत्मविश्वास र कर्जाको मागमा स्पष्ट रूपमा देखिन थाल्छ। यो वर्तमान आर्थिक मन्दीका अनेकौँ कारणहरूमध्ये एउटा प्रमुख सम्भावित कारण हो।

सुधारको गति र पुनरुत्थानको प्रक्रिया

मलाई यो वर्तमान आर्थिक अवस्था लामो समयदेखि कुनै कुलतमा फसेको व्यक्तिको पुनरुत्थान अर्थात् पुनर्स्थापना केन्द्रको प्रक्रिया जस्तै लाग्छ। यसको अन्तिम लक्ष्य त्यो कुलतलाई पूर्ण रूपमा निर्मूल पार्नु नै हो।

तर, चिकित्सा विज्ञानमा पनि यस्ता उपचारहरू प्रायः चिकित्सकको निगरानीमा क्रमशः गरिने रूपान्तरणमार्फत मात्र गरिन्छन्, जसले गर्दा शरीर र मन दुवैले सामान्य जीवनशैलीमा सहजै आफूलाई अनुकूल बनाउन सकून्।

यसैगरी, अर्थतन्त्रमा सुधारका कदमहरू अपरिहार्य छन्, तर त्यस्ता सुधारसँगै अर्थतन्त्रलाई नयाँ संरचनामा सहज ढङ्गले ढाल्नका लागि पर्याप्त समय र अनुकूल वातावरण दिनु उत्तिकै आवश्यक हुन्छ।

आदर्श र यथार्थबीचको सन्तुलन

मेरो व्यक्तिगत बुझाइमा नैतिक मूल्य र आर्थिक यथार्थबीचको सन्तुलन कायम गर्नु नै आजको सबैभन्दा ठूलो चुनौती हो।

यदि हामीले अर्थतन्त्रलाई केवल अमूर्त नैतिक आदर्शको कभरेजमा मात्र मूल्याङ्कन गर्ने हो भने, विश्वका थुप्रै विकसित अर्थतन्त्रहरूमा जरा गाडेर बसेका प्रतिरक्षा तथा हतियार उद्योग, कर छुट दिने देशहरू र जटिल विश्वव्यापी पुँजी प्रवाहजस्ता विषयहरूमा पनि उही कडा मापदण्ड लागू गर्नुपर्ने हुन्छ।

तर, वास्तविक संसारमा नीति निर्माण भनेको सधैँ आदर्श र व्यावहारिक यथार्थबीचको उचित सन्तुलन खोज्ने निरन्तरको प्रक्रिया हो।

यो कुनै पनि प्रकारको भ्रष्टाचार वा गैरकानुनी गतिविधिको पक्षपोषण वा समर्थन होइन। बरु, राज्यले चाल्ने सुधारका कदमहरूलाई कसरी दिगो, सन्तुलित र आर्थिक रूपमा बढी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गरिएको एक निष्पक्ष व्यावहारिक अवलोकन मात्र हो।

(लेखक: लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक हुन् )