३ भदौ २०८३, बुधबार

देशमा रोजगारी नहुँदा विदेशिने क्रम बढ्यो : साउनमा ७० हजार विदेशिए, प्रतिभा पलायनको जोखिम



काठमाडौं । नेपालमा पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहँदै आएको छ। स्वदेशभित्र पर्याप्त र मर्यादित रोजगारीका अवसरहरू सिर्जना हुन नसक्नु, औद्योगिक क्षेत्रको सुस्त विकास र श्रम बजारमा युवा शक्तिको खपत हुन नसक्नुले वैदेशिक रोजगारीलाई युवाहरूको मुख्य विकल्प बनाएको हो। विशेषगरी मध्यपूर्वी खाडी मुलुकहरू र मलेसिया नेपाली श्रमिकका परम्परागत गन्तव्य रहे पनि पछिल्लो समय युरोप र अन्य विकसित मुलुकहरूतर्फ पनि नेपालीहरूको आकर्षण तीव्र रूपमा बढेको देखिन्छ।

कोभिड–१९ महामारीपछि विश्वव्यापी रूपमा खुलेको श्रम बजार र नेपाल सरकारले श्रमस्वीकृति प्रक्रियालाई प्रविधिमैत्री (अनलाइन) बनाएपछि विदेशिने श्रमिकको संख्यामा थप वृद्धि भएको छ। विदेशबाट भित्रिने वार्षिक २२ खर्बभन्दा बढीको रेमिट्यान्सले मुलुकको विदेशी मुद्रा सञ्चिति, शोधानान्तर स्थिति र गरिबी निवारणमा निर्णायक योगदान पुर्याए पनि उत्पादक उमेरका युवा जनशक्ति ठूलो संख्यामा बाहिरिँदा देशको आन्तरिक विकास र सामाजिक संरचनामा परेको दीर्घकालीन असरबारे भने सरोकारवालाहरुले चिन्ता व्यक्त गरेको छन्।

साउनमा ७० हजार कामदार विदेशिए

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७० हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुनः श्रमस्वीकृति लिएर ७० हजार ४४१ जना नेपाली विदेशिएका छन्।

यो संख्या गत आर्थिक वर्षको साउनको तुलनामा केही बढी हो। गत वर्षको सोही महिनामा ६८ हजार ११० जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए। यस आधारमा एक वर्षमा विदेश जानेको संख्या २ हजार ३३१ जनाले बढेको देखिन्छ।

विभागले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकबाट श्रमिकको माग बढेकाले श्रमस्वीकृति लिनेको संख्या वृद्धि भएको जनाएको छ। स्वदेशमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा पनि नेपाली युवाको विदेश जाने क्रम निरन्तर रहेको विभागको भनाइ छ।

कोभिड–१९ महामारीपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमशः बढ्दै गएको विभागले जनाएको छ। गन्तव्य मुलुकमा श्रमिकमैत्री कानुनमा भएका सुधार, श्रमस्वीकृति प्रक्रिया पूर्ण रूपमा अनलाइन हुनु तथा विभिन्न देशमा श्रमिकको अभाव बढ्नुले नेपाली श्रमिकको माग बढाएको विभागको विश्लेषण छ।

मासिक रूपमा मात्र नभई वार्षिक तथ्यांकमा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च रहँदै आएको छ। कोभिडअघि वार्षिक औसत ५ लाखको हाराहारीमा नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्ला वर्षमा यो संख्या बढेर ८ लाखको आसपास पुगेको छ।

पछिल्ला पाँच आर्थिक वर्षलाई हेर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ऐतिहासिक रूपमा उच्च तहमा रहेको विभागको तथ्यांकले देखाउँछ। विदेशिने नेपालीको संख्या बढेसँगै रेमिटेन्स आप्रवाहमा समेत वृद्धि हुँदै आएको छ। पछिल्लो समय नेपाल भित्रिने वार्षिक रेमिटेन्स २२ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

प्रतिभा पलायनको जोखिम

मुलुकभित्रै मर्यादित र पर्याप्त रोजगारीको अवसर नहुँदा ऊर्जाशील युवा जनशक्ति विदेशिनुले तत्कालका लागि रेमिट्यान्स बढाए पनि देशको दीर्घकालीन विकासमा भने ठूलो चुनौती थपेको छ। विशेष गरी पढेलेखिएका, दक्ष र उत्पादक उमेर समूहका युवाहरू यसरी निरन्तर बाहिरिँदा मुलुक ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) को गम्भीर जोखिममा धकेलिएको छ। श्रम बजारमा भित्रिने नयाँ पुस्तालाई स्वदेशमै रोक्ने खालका औद्योगिक वातावरण, स्वरोजगारका कार्यक्रम र व्यावहारिक नीतिको अभाव कायम रहेसम्म यो क्रम रोकिने देखिँदैन।

रेमिट्यान्सले अर्थतन्त्रको सानातिना गर्जो टारे पनि मुलुक निर्माणका मुख्य वाहक मानिने युवा जनशक्ति नै नरहे पछि दीर्घकालीन समृद्धि असम्भव प्रायः हुन्छ। तसर्थ, सरकार र सरोकारवाला निकायले केवल श्रमस्वीकृति प्रक्रिया सहज बनाएर तथ्याङ्क देखाउनेमा मात्र सीमित नभई, देशभित्रै उद्यमशीलता र रोजगारीको दिगो वातावरण सिर्जना गर्नुको विकल्प छैन।