नेपाल र तिब्बतमा मृत्यु हुनेको संख्या ७५० पुग्यो, ३ हजारभन्दा बढी बेपत्ता
काठमाडाैँ । हिमालबाट बगेर आएको विनाशकारी बाढीका कारण नेपाल र तिब्बतमा ज्यान गुमाउनेहरूको संख्या आइतबारसम्म ७५० पुगेको छ भने ३ हजार ४४ जना अझै बेपत्ता रहेको अधिकारिक निकायले जनाएका छन्।
लगातारको वर्षाका कारण नदीहरूमा पानीको सतह बढेपछि उद्धारकर्ताहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। गत बुधबार गएको हिमस्खलन (ग्लेशियर कोल्याप्स) का कारण नेपाल–चीन सीमा क्षेत्रमा लेदोसहितको बाढीले ताल बनेको थियो। सो ताल फुटेर नेपालका नदीमा पानी बग्न थालेपछि नयाँ बाढी आउने त्रासबीच खराब मौसमका कारण शुक्रबारदेखि नै उद्धार कार्य पटक-पटक स्थगित हुँदै आएको छ।
यस विपदबाट करिब ९० हजारभन्दा बढी मानिस प्रभावित भएको रेडक्रसले अनुमान गरेको छ। चीनले यसलाई जलवायु परिवर्तनको असरसँग जोडेको छ। चिनियाँ स्टेट ब्रोडकास्टर सिसीटिभीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार आफ्ना नेपाली समकक्षीसँगको टेलिफोन कुराकानीमा यो लेदोसहितको बाढी पछिल्लो समयको “सबैभन्दा गम्भीर सीमापार विपद्” भएको बताएका छन्।
साथै, उद्धार कार्य अभूतपूर्व रूपमा कठिन र जटिल बनेको उनले उल्लेख गरेका छन्।
सुरुङ उद्धारमा मुख्य ध्यान
हिमालका नदीहरूमा बरफ, चट्टान, लेदो र भग्नावशेषको बाढी आएपछि जलविद्युत् आयोजनाका सुरुङहरूमा सयौं मानिस फसेको आशङ्का गरिएको छ र हाल नेपालको उद्धार प्रयास सोही क्षेत्रमा केन्द्रित भएको छ।
राष्ट्रिय विपद् प्राधिकरणका अनुसार नेपालमा मात्रै मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २ हजार ४९८ जना बेपत्ता तथा ७ हजार ५१४ जनाको उद्धार गरिएको छ। उता तिब्बतका अधिकारीहरूले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार शनिबार साँझसम्म जिरोङ काउन्टीमा १६ जनाको मृत्यु भएको छ र ५४६ जना बेपत्ता छन्।
तिब्बततर्फ बेपत्ता भएका २३ देशका २६१ विदेशी नागरिकमध्ये १०४ जना नेपाली, ४९ जना छिमेकी भारतका, ३३ जना लात्भियाका, १८ जना अमेरिकी र १५ जना बेलायती रहेका छन्।
चिनियाँ पक्षले राष्ट्रियताको आधारमा विवरण सार्वजनिक गरेको यो पहिलो पटक हो। सिसीटिभीका अनुसार बेइजिङ र काठमाडौंले हराएका नागरिक तथा विदेशीहरूको पहिचान गर्न, विपद् रोकथाम र न्यूनीकरणमा सहकार्य सुदृढ गर्न तथा जलवायु परिवर्तनको प्रतिकार्यमा सहकार्य गरिरहेका छन्।
बढ्दो जोखिम र अन्तर्राष्ट्रिय सहयोग
आइतबार परेको नयाँ वर्षाका कारण त्रिशूली नदीमा पानीको सतह बढेपछि स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उच्च स्थानमा जान प्रहरीले आग्रह गरेको छ। नेपालले सामान्य उद्धारका लागि विदेशी सहयोगको आवश्यकता नरहेको बताए पनि सुरुङभित्रको उद्धार, डीएनए परीक्षण, शव राख्ने फ्रिज र कुहिएका अवशेषहरूको फरेन्सिक पहिचान जस्ता क्षेत्रमा भने सहायता चाहिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताएका छन्।
सुरुङहरू खुलाउने प्रयासमा भारतीय र चिनियाँ विज्ञहरू घटनास्थलमै खटिरहेका छन्।
शनिबार साँझसम्म उद्धारमा बाधा पुर्याइरहेको माथिल्लो क्षेत्रको ताल धेरैजसो खाली भइसकेको सिसीटिभीले जनाएको छ। तर, शनिबार साँझ ड्रोनले उक्त तालभन्दा २.८ किलोमिटर तल्लो क्षेत्रमा पहिरो गएको पत्ता लगाएको छ, जसले नयाँ बाँध र पानीको पोखरी बनाएको छ। त्यसपछि अधिकारीहरूले जिरोङ सीमानाका नजिक रहेका उद्धारकर्मीहरूलाई सुरक्षित स्थानमा सारेका छन्।
जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव
पृथ्वीकाे उष्णिकरण (ग्लोबल वार्मिङ)को दीर्घकालीन प्रभावका कारण हिमनदीमा आएको अस्थिरताले यो बाढी निम्तिएको सिसीटिभीले जनाएको छ। तिब्बती पठारमा यो ‘क्रायोस्फेयर’ (हिमनदी क्षेत्र) विपद्को नयाँ र प्रमुख विशेषता रहेको बताइएको छ।
चिनियाँ वैज्ञानिकहरूको अनुसन्धानलाई उद्धृत गर्दै सिसीटिभीले नेपाली तर्फबाट आएको लेदो बाढी जिरोङ सीमा-नाकामा पुग्न ६ देखि ७ मिनेट मात्रै लागेको उल्लेख गरेको छ। विश्वभर फैलिएको भिडियो फुटेजमा पानी र भग्नावशेषको बाढीले घरहरू बगाइरहेको र मानिसहरू ज्यान बचाउन भागिरहेको दृश्य देखिन्छ।
चीनले २ हजार १०० भन्दा बढी उद्धारकर्मी परिचालन गरेको छ र राहत कार्यका लागि कम्तीमा २२ करोड युआन (३ करोड २७ लाख डलर) छुट्याएको छ। यसबाहेक चीनले आपत्कालीन नगद सहायता, राहत सामग्री, उपग्रह तथा जलसम्बन्धी डाटा र सुरुङ उद्धार विज्ञहरू पनि नेपाललाई उपलब्ध गराएको सिसीटिभीले जनाएको छ।
सीमानाका नजिकै खटिएका उद्धारकर्मीहरूका लागि हेलिकप्टरमार्फत उपकरण र सामग्री खसाइएको छ भने सीमा नजिकै भारी क्षमताका ड्रोनहरू प्रयोग गरिएको छ। बेपत्ताहरूको खोजीलाई निरन्तरता दिन सैनिकहरूले जीवन पत्ता लगाउने उपकरण, ड्रोन र नेभिगेसन प्रणालीको प्रयोग गरिरहेका छन्।













