मुस्लिम जगतलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खामेनीको आह्वान
इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले मुस्लिम राष्ट्रहरूलाई वास्तविक शत्रुको पहिचान गरी दृढताका साथ सामना गर्न आह्वान गरेका छन् भने छ महिनादेखि जारी युद्धका कारण खाडी क्षेत्रमा स्ट्रेट अफ हर्मुज अझै बन्द रहँदा ऊर्जा संकट चुलिएको छ।
काठमाडाैँ । इरानसँगको तनावपूर्ण युद्ध ६ महिनामा प्रवेश गरेसँगै मध्यपूर्वको भू-राजनीतिक तथा सामरिक परिदृश्य थप गम्भीर मोडमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले एक लिखित सन्देश जारी गर्दै मुस्लिम राष्ट्रहरूका प्रमुखहरूलाई आफ्ना ‘वास्तविक शत्रु’ लाई पहिचान गर्न, उसका योजनाहरू गहिराइमा बुझ्न र त्यसको दृढताका साथ सामना गर्न आह्वान गरेका छन्।
इरानी सर्वोच्च नेताको यो कडा चेतावनीले खाडी क्षेत्रमा जारी द्वन्द्व थप ध्रुवीकरणतर्फ धकेलिने स्पष्ट संकेत गरेको छ।
युद्धको यो ६ महिने अवधिले खाडी क्षेत्रका देशहरूको सुरक्षाप्रतिको परम्परागत दृष्टिकोणलाई पूर्ण रूपमा फेदबाटै हल्लाइदिएको छ। यसअघि खाडीको सुरक्षा प्रणाली मुख्यतः संयुक्त राज्य अमेरिकाको बाह्य सुरक्षा छाता र खाडी सहयोग परिषद् (जीसीसी) को क्षेत्रीय ढाँचामा निर्भर रहँदै आएको थियो।
तर, कतारस्थित अल उदेइद एयरबेसमा भएको क्षेप्यास्त्र आक्रमणपछि खाडी क्षेत्रका शहरहरू, ऊर्जा पूर्वाधारहरू, विमानस्थलहरू र समुद्री मार्गहरू क्षेप्यास्त्र तथा ड्रोन हमलाहरूप्रति कति संवेदनशील छन् भन्ने तथ्य छताछुल्ल भएको छ। यो यथार्थले खाडी राष्ट्रहरूलाई पुरानो सुरक्षा ढाँचामा मात्र पूर्ण रूपमा भर पर्न नहुने पाठ सिकाइएको छ।
परिणामस्वरूप, खाडी देशहरूले आफ्नो सुरक्षा प्रणालीलाई थप तहगत र फराकिलो बनाउँदै लगेका छन्। उनीहरूले आपसमा आपसी सहयोग सुदृढ गर्नुका साथै टर्की र युरोपेली राष्ट्रहरूजस्ता नयाँ साझेदारहरूसँगको सम्बन्धलाई गहिरो बनाइरहेका छन्।
साउदी अरेबिया, टर्की र पाकिस्तानबीच भएको मक्का संयुक्त रक्षा सम्झौता यसको प्रमुख उदाहरण हो, जसमा एक देशमाथिको आक्रमणलाई सबैमाथिको आक्रमण मानिने प्रतिबद्धता व्यक्त गरिएको छ। यद्यपि यसलाई नेटोसँग तुलना गरिए पनि, मध्यपूर्वको जटिल भू-राजनीतिक अवस्थामा यो कुनै एकलाैटी शक्तिशाली नेतृत्वमा आधारित नभई बहुपक्षीय र ओभरल्यापिङ साझेदारीको प्रणालीतर्फ अगाडि बढिरहेको छ।
क्षेत्रीय तनावको अर्को प्रमुख केन्द्रविन्दु बनेको सामरिक रूपमा अति महत्वपूर्ण स्ट्रेट अफ हर्मुज अझै पनि पूर्ण रूपमा बन्द रहेको छ। इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले तेहरान यो जलमार्ग छिटो खुलाउने कुनै पनि हतारोमा नरहेको स्पष्ट पारेका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पनि यस जलमार्गमाथि आफ्नो दृढ नियन्त्रण कायम रहेको दाबी गरिरहेकाे छ । साथै ऊर्जाको मूल्यलाई प्रभावित पार्ने दुराशयले अमेरिकी नेताहरूले यस जलमार्गको आवागमनबारे भ्रमपूर्ण तथा झुटा बयानहरू फैलाइरहेको भनेर गम्भीर आरोप लगाएको छ।
यसअघि इरान र ओमानबीच अस्थायी समुद्री मार्गका लागि सहमति भएको भनिएकाे थियाे । तर तेहरानले यसलाइ लत्याइदिएकाे छ र अमेरिकाले विगतको अन्तरिम शान्ति सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू पूरा नगरेसम्म जलमार्ग पूर्ण रूपमा नखुल्ने अडान लिएको छ।
यसको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा बजारमा देखिएको छ। युद्ध सुरु भएदेखि ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७२ डलरबाट बढेर करिब ८८ डलर पुगेको छ, जुन करिब २२ प्रतिशतको वृद्धि हो। विश्वको पाँच भागको एक भाग तेल र प्राकृतिक ग्यास ढुवानी हुने यो प्रमुख मार्ग बन्द रहँदा अमेरिकी ठूला तेल कम्पनीहरूले सन् २०२२ यताकै उच्च नाफा आर्जन गरेका छन्।
तर, अर्कोतर्फ यसले खाडी क्षेत्रमा रहेका उनीहरूका दीर्घकालीन लगानी र ऊर्जा पूर्वाधारहरूलाई गम्भीर भू-राजनीतिक तथा आर्थिक जोखिममा पारेको छ।
संकटसामु कूटनीतिक र मध्यस्थताका प्रयासहरू पनि समानान्तर रूपमा चलिरहेका छन्। इराकका प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार कासिम अल-अराजीले तेहरान र वाशिंगटनबीच ‘पुल’ को भूमिका खेल्न इराक निरन्तर प्रयास गरिरहेको बताएकाे खबर अल-जजिराले छापेकाे छ ।
यद्यपि, युद्धको मैदानमा भने हिंसा रोकिएको छैन। इजरायली सेनाले उत्तर गाजाको जबलिया क्षेत्रमा गरेको एक घातक आक्रमणमा हमासको सैन्य शाखाका एक एलिट नुख्भा फोर्सका कमाण्डर अब्द अल-फताह अबू अल-आइस र अर्का सदस्य राएद अदेल मोहम्मद अलियान मारिएको दाबी गरेको छ।
इजरायली सेनाका अनुसार यी दुवै संदिग्धहरूले इजरायली सेना र नागरिकहरू विरुद्धका योजनाहरूलाई अगाडि बढाउँदै आएका थिए र उनीहरूले युद्धविरामको लगातार उल्लङ्घन गरेका थिए। यसैबीच, इजरायली नियन्त्रणमा रहेकाे वेस्ट-बैंकको नाब्लस नजिकैको कुस्रा गाउँमा इजरायली फौजको सहयोगमा इजरायली बसोबासकर्ताहरूले अर्को एक प्यालेस्टिनी घरलाई घेरा हालेको स्थलगत रिपोर्टहरू पनि प्राप्त भएका छन्।













