२९ भदौ २०८३, सोमबार

स्वावलम्बन लघुवित्तद्धारा भोटेकोशी बाढी प्रभावितका लागि ४० लाख सहयोग



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाका अध्यक्ष प्रा.डा. कुसुम शाक्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

आज भदौ २९ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष शाक्यले बाढीपीडितको राहत तथा उद्धारका लागि ४० लाख रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गर्दै विपद्को कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले स्वावलम्बन लघुवित्तले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएकी छिन्।

संस्थाका अनुसार कुल ४० लाख रुपैयाँमध्ये संस्थागत तर्फबाट २५ लाख रुपैयाँ, सञ्चालकहरूको तर्फबाट ३० हजार ६ सय रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको तर्फबाट १४ लाख ६९ हजार ४ सय रुपैयाँ संकलन गरी योगदान गरिएको हो।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति संस्थाले दुःख व्यक्त गरेको छ। विपद्का कारण प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै स्वावलम्बन लघुवित्तले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ।

संस्थाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

यसैबीच, स्वावलम्बन लघुवित्तले वेत्रावती–रसुवा शाखा कार्यालयमा कार्यरत रही हालसम्म सम्पर्कविहीन रहेका कर्मचारीद्वय किरण थापा र राजकुमार दर्जीसहित बाढीका क्रममा सम्पर्कविहीन भएका नागरिकहरूको सकुशल खोजी तथा उद्धारका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेको छ।

भोटेकोशी बाढीले विशेषगरी रसुवा जिल्लामा ठूलो क्षति पुर्‍याएपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, बैंक तथा वित्तीय संस्थाले सरकारको दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम बढेको छ। स्वावलम्बन लघुवित्तले पनि आफ्नो संस्थागत तथा कर्मचारीको योगदानमार्फत विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्ने प्रयास गरेको जनाएको छ।