१५ कार्तिक २०८३, आइतबार

लक्ष्मी सन्राइज बैंकको चौतर्फी रफ्तार: कर्जा र निक्षेप विस्तारसँगै नाफामा ९६.६१% को छलाङ



काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निकै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकद्वारा सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा, सञ्चालन मुनाफा तथा व्यवसाय विस्तारका प्रमुख सूचकहरूमा उल्लेखनीय प्रगति देखिएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असार मसान्तदेखि असोज मसान्तसम्म) मा बैंकको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ। बैंकले समीक्षा अवधिमा ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ९६.६१ प्रतिशतको आकर्षक वृद्धि हो। गत वर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफा ३३ करोड २३ लाख ३१ हजार रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफामा पनि विष्फोटक सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा ११२.९७ प्रतिशतले बढेर चालु आर्थिक वर्षको सोही अवधिमा ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको छ। कर्जा जोखिम बापतको इम्पेयरमेन्ट खर्च १ अर्ब ९३ करोड ९१ लाखबाट घटेर १ अर्ब १९ करोड ६८ लाख रुपैयाँमा झरेपछि बैंकको सञ्चालन मुनाफा दोब्बरभन्दा बढीले उकालो लागेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी १.७१ प्रतिशतले बढेर चालु आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ७६ करोड १७ लाख २० हजार रुपैयाँ पुगेको छ। यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४.५३ प्रतिशतले वृद्धि भई ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। यद्यपि, कुल सञ्चालन आम्दानी भने ०.७३ प्रतिशतको सामान्य संकुचनसहित ३ अर्ब ८८ करोड ८४ लाख २९ हजार रुपैयाँ रहेको छ।

नाफामा आएको फड्कोसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि ७८.७५ प्रतिशतको आकर्षक उछाल आएको छ। गत वर्षको पहिलो त्रैमासमा वार्षिक ५.४६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ९.७६ रुपैयाँ पुगेको छ। यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७८.०१ रुपैयाँ कायम भएको छ।

वितरणयोग्य मुनाफा (बाँड्न मिल्ने नाफा) तर्फ बैंकको असोज मसान्तसम्मको कुल सञ्चित नाफा १ अर्ब ४२ करोड ७० लाख ७८ हजार रुपैयाँ रहेको छ। यसमध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासको कमाइबाट मात्रै ८५ लाख ३६ हजार रुपैयाँ वितरणयोग्य नाफा बचत भएको छ, जुन गत वर्षको पहिलो त्रैमासमा २८ करोड १५ लाख ९३ हजार रुपैयाँ ऋणात्मक (घाटामा) रहेको थियो।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सन्तोषजनक वृद्धि देखिएको छ। गत असार मसान्तको तुलनामा बैंकको कुल निक्षेप संकलन ३.५८ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट पनि ५.०० प्रतिशतले विस्तार भई ३ खर्ब २१ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

बैंकको सम्पत्तिको गुणस्तरमा भने सामान्य दबाब देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.४२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा केही बढेर ५.५८ प्रतिशत पुगेको छ। यद्यपि बैंकले कर्जा नोक्सानी सुरक्षण अनुपात (प्रोभिजनिङ कभरेज) ९७.३८ प्रतिशतबाट बढाएर ९८.२३ प्रतिशत पुर्‍याई वित्तीय जोखिम व्यवस्थापनलाई थप सबल बनाएको छ।