१८ कार्तिक २०८३, बुधबार

दुई वर्षपछि धनतेरसमा सुनको असर्फी बिक्री खुला गर्दै राष्ट्र बैंक, प्रतिव्यक्ति कति पाइन्छ?



काठमाडाैं । यस वर्ष नेपाल राष्ट्र बैंकले तिहारकाे अवसरमा सुनको असर्फी बिक्री गर्ने भएकाे छ।

राष्ट्र बैंकले दुई वर्षपछि बबरमहलस्थित टक्सार महाशाखाबाट धनतेरसका दिन अर्थात आगामी कात्तिक १९ र २० गते सुनको असर्फी  तथा चाँदीका सिक्काहरू बिक्रि खुला गर्ने भएकाे हाे ।

कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी तथा चाँदीका सिक्काहरू किन्न पाइनेछ।

यस अन्तर्गत प्रतिव्यक्ति २.५ ग्रामको १ थान सुनको असर्फी (जसको अनुमानित मूल्य ६० हजारदेखि ७० हजार रुपैयाँसम्म पर्न सक्नेछ र वास्तविक मूल्य बिक्रीको दिन बिहान निर्धारण हुनेछ) तथा लक्ष्मी र गणेश अंकित १० ग्रामका चाँदीका मेडालियनहरू प्रतिव्यक्ति १ देखि बढीमा २ थानसम्म खरिद गर्न सकिनेछ।

खरिदका लागि सम्बन्धित नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्रसहित स्वयं उपस्थित हुनुपर्नेछ भने भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था मिलाइएको छ।