नियमविपरीत चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकल प्रहरीको नियन्त्रणमा, के छ कानुनी व्यवस्था ?
काठमाडौँ। ध्वनि प्रदूषण नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन (मोडिफाई) गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकलविरुद्ध विशेष निगरानी र कारबाही अभियान सञ्चालन गरेको छ । यसै क्रममा बितेको एक हप्ताको अवधिमा मात्र नियमविपरीत चलाइएका ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार कम्पनीले निर्माण गर्दा राखेको वास्तविक साइलेन्सर फेर्ने, ‘डिबी किलर’ झिकेर कर्कश आवाज निकाल्ने तथा सिट, रङ, ह्यान्डल र लाइटिङ प्रणालीसमेत आफूखुसी हेरफेर गरी चलाउने प्रवृत्ति बढेपछि कारबाही तीव्र पारिएको हो ।
सर्वसाधारणमा असर र दुर्घटनाको जोखिम
मोटरसाइकलबाट निस्कने अत्यधिक ध्वनिले समाजका विभिन्न वर्गलाई प्रत्यक्ष असर पुर्याएको प्रहरीको ठहर छ । विशेषगरी ज्येष्ठ नागरिक, साना बालबालिका, बिरामी तथा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा यसले गम्भीर बाधा पुर्याएको एसपी सुवेदीले उल्लेख गरे ।
यसका साथै, सवारीसाधनको बाह्य तथा आन्तरिक स्वरूप हेरफेर गर्दा त्यसको यान्त्रिक सन्तुलन बिग्रने र सडक दुर्घटनाको खतरा अत्यधिक बढ्ने ट्राफिक प्रहरीको विश्लेषण छ ।
चालक स्वयं र पैदलयात्रीसमेत असुरक्षित हुने भएकाले आम नागरिकको गुनासोलाई सम्बोधन गर्दै सडक अनुगमन र सचेतना कार्यक्रमलाई एकसाथ अघि बढाइएको प्रहरीले जनाएको छ। आगामी दिनमा वातावरण विभागसँगको सहकार्यमा सवारीको यान्त्रिक अवस्था र प्रदूषण जाँचलाई थप कडाइका साथ लागू गरिने बताइएको छ ।
के छ कानुनी व्यवस्था ?
प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम अधिकारप्राप्त निकायको स्वीकृतिबिना कुनै पनि सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन। स्वरूप परिवर्तन गर्न आवश्यक भए अधिकारप्राप्त अधिकारीबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।
त्यस्तै, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९४ मा अनुमति नलिई सवारीसाधनको स्वरूप हेरफेर गरी चलाएको पाइएमा ७ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सकिने स्पष्ट कानुनी प्रावधान रहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।















