नेतान्याहुद्वारा चारदेखि सात दिने इरान हमला अभियानका लागि ट्रम्पमाथि दबाब
पश्चिम एसियामा तैनाथ अमेरिकी सैन्य शक्ति र इजरायली गुप्तचर चेतावनीबीच ट्रम्पले इरानविरुद्ध नयाँ हवाई आक्रमण गर्ने कि कूटनीतिक तथा आर्थिक दबाबलाई निरन्तरता दिने भन्ने निर्णायक मोडमा उभिएका छन्।
काठमाडाैँ । इजरायलले इरानका क्षेप्यास्त्र, ड्रोन तथा रासायनिक र जैविक हतियार कार्यक्रमबारे चेतावनी दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूला सैन्य हमला गर्ने विषयमा विचार गरिरहेको बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलसँगै मिलेर चारदेखि सात दिनसम्म चल्ने हवाई अभियानमा सहभागी हुन वासिङ्टनलाई दबाब दिइरहेको द न्युयोर्क टाइम्सले बुधबार समाचार प्रकाशित गरेको छ। छलफलबारे जानकार अमेरिकी र इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै उक्त पत्रिकाले यस्तो विवरण सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार ट्रम्पले अहिलेसम्म कुनै निर्णय त गरिसकेका छैनन्, तर तेहरानले आफ्नो क्षेप्यास्त्र र ड्रोन भण्डार पुनः निर्माण गर्न तथा रासायनिक र जैविक हतियार कार्यक्रम अघि बढाउन प्रगति गरेको भन्दै इजरायलले दिएका नयाँ गुप्तचर चेतावनीमाथि उनी विचार गरिरहेका छन्।
उक्त समाचार अनुसार पश्चिम एसियाकाे खाडी क्षेत्रमा हाल तैनाथ रहेको ठुलो अमेरिकी सैन्य शक्तिले सिर्जना गरेको सम्भावित अवसरको उपयोगबारे पनि राष्ट्रपतिले मूल्याङ्कन गरिरहेका अधिकारीहरूले बताएका छन्। गत साता इजरायली खुफिया संस्था मोसादका प्रमुख रोमन गोफम्यानले अमेरिकी खुफिया संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफसहित अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्न वासिङ्टन गएपछि यी छलफलहरू अझ तीव्र बनेको बताइएको छ।
द न्युयोर्क टाइम्सका अनुसार इजरायली रक्षा बल (आईडीएफ) को सैन्य गुप्तचर निर्देशनालयका प्रमुख मेजर जनरल श्लोमी बाइन्डरले पनि आफ्ना अमेरिकी समकक्षीहरूसँगको छलफलमा इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्नुपर्ने पक्षमा वकालत गरेका छन्।
यद्यपि, एक वरिष्ठ इजरायली अधिकारीले नेतान्याहुले ट्रम्पलाई कारबाहीका लागि दबाब दिएको भन्ने चित्रणप्रति असहमति जनाएकाे खबर जेरूसेलमपाेस्टले लेखेकाे छ । उक्त समाचारमा प्रधानमन्त्रीका प्रवक्ताले नेतान्याहुले सधैँ इजरायलको सुरक्षा जोगाउन काम गर्दै आएको बताएका छन्।
ट्रम्प प्रशासनभित्रै मतभेद
अर्को ठुलो सैन्य अभियानको सम्भावनाले गुप्तचर सूचनाको विश्वसनीयता र पुनः हमला गर्नु कत्तिको बुद्धिमानी हुन्छ भन्ने विषयमा प्रशासनभित्रै गम्भीर असहमति सतहमा ल्याइदिएको छ। न्युयोर्क टाइम्सका अनुसार मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको पराजयपछि विशेषगरी केही अधिकारीहरूले उदीयमान खतराहरूले नयाँ सैन्य कारबाहीलाई औचित्यपूर्ण ठहर्याउँछ कि ठहर्याउँदैन भन्ने प्रश्न उठाएका छन्।
करिब आठ महिनाअघि सुरु भएको युद्धले महङ्गी बढाउन दबाब परेको र ट्रम्पले सुरुमा वाचा गरेजस्तो छिटो जित दिलाउन नसकेकाले ह्वाइट हाउसमाथि राजनीतिक दबाब परेको छ। पछिल्ला महिनामा ट्रम्पले आफ्नो अडान बारम्बार फेर्दै आएका छन्; कहिले उनले युद्ध सकिएको सङ्केत दिएका छन् भने कहिले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न थप आक्रमणको सम्भावना खुला राखेका छन्।
ट्रम्पले हालै उपराष्ट्रपति जेडी भान्सलाई तेहरानसँग वार्तामार्फत सम्झौता गर्ने प्रयास त्याग्न निर्देशन दिएको र इरानलाई आफ्नो आणविक कार्यक्रम त्याग्न बाध्य पार्न निरन्तरको आर्थिक दबाबलाई क्रमशः प्राथमिकता दिइरहेको पनि उक्त पत्रिकाले लेखेको छ।
तर, एक अमेरिकी अधिकारीले भने प्रशासनको आर्थिक दबाब अभियानले इरानलाई पहिल्यै गम्भीर रूपमा कमजोर बनाइसकेकाले थप ठूला सैन्य कारबाही अनावश्यक रहेको तर्क गरेका छन्।
‘जसरी भए पनि टुङ्ग्याउने’
इरानले आणविक हतियारको विकल्पका रूपमा रासायनिक र जैविक हतियारबारे खोजी गरिरहेको सङ्केत अमेरिकी गुप्तचर निकायहरूसँग रहेको ट्रम्पले फक्स न्युजलाई बताएको केही घण्टापछि यो प्रतिवेदन बाहिरिएको हो।
ह्वाइट हाउसकी संवाददाता ज्याकी हेनरिचसँग कुरा गर्दै ट्रम्पले आणविक हतियारबाट इरानलाई रोकेपछि उसले ग्यास र जैविक हतियारतर्फ हेरिरहेको सङ्केत देखिएको बताएका थिए।
राष्ट्रपतिले तेहरानसँग सम्पर्क जारी रहेको पनि पुष्टि गरेका छन्। इरान सम्झौता गर्न चाहन्छ, तर आफू दिगो सम्झौताको पक्षमा रहेको ट्रम्पले बताए। त्यस्तो सम्झौता नहुँदासम्म अमेरिकी सेनालाई त्यस क्षेत्रमा राख्नुहुन्छ कि भन्ने प्रश्नमा उनले आफूले यो विषय चाँडै टुङ्ग्याउने र जसरी भए पनि अन्त्य गर्ने प्रतिक्रिया दिए।
उनको यो अभिव्यक्तिले वासिङ्टनले यो टकरावलाई कूटनीतिमार्फत टुङ्ग्याउन खोजेको हो वा पुनः सैन्य कारबाही गर्न खोजेको हो भन्ने विषय खुला राखेको छ।
इरानसँगको व्यवहारलाई लिएर मतभेद भएपछि भान्सलाई वार्ताबाट हटाइएको भन्ने चर्चा पनि ट्रम्पले अस्वीकार गरेका छन्। उनले भान्सले निकै राम्रो काम गरिरहेको बताए। ट्रम्पले तेहरानसँग दिगो सम्झौता गर्ने आफ्नो चाहनामा जोड दिइरहे पनि न्युयोर्क टाइम्सको प्रतिवेदनले पुनः सैन्य कारबाहीको विकल्प सक्रिय रूपमै विचाराधीन रहेको देखाउँछ।
अहिलेलाई भने राष्ट्रपतिले केन्द्रित हवाई आक्रमणको इजरायली प्रस्ताव अँगाल्छन् वा आर्थिक र कूटनीतिक दबाबमार्फत सम्झौता खोज्न जारी राख्छन् भन्ने मूल प्रश्न कायमै छ।















