३.६२ अंकले बढ्यो नेप्से, कारोबारमा सुस्तता कायमै
काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकले भएपनि आज केही सकारात्मक सुधार देखिएको छ। बिहीबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा कायम भएको हो। तर कारोबारको सुस्तता भने आज पनि कायमै छ।
परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको हो। अघिल्लो दिन बुधबार ४ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज घटेर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ। आज ३४७ वटा स्टकको ४० हजार ८३७ पटकको कारोबारमा ९४ लाख ३७ हजार कित्ता शेयर किनबेच भएका छन्।
आज १३ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको सूचक बढेको छ भने ८ वटा उपसमूह घटेका छन्। बढ्नेमा होटल तथा पर्यटन उपसमूहको सूचक सर्वाधिक १.२९ प्रतिशतले बढेको छ। यसका अलावा बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचकमा पनि सामान्य सुधार देखिएको छ।
आजको बजारमा बोटलर्स नेपालको शेयरमूल्य सबैभन्दा बढी करिब ६ प्रतिशतले बढेको छ। यसैगरी, बोटलर्स नेपाल (तराई) को मूल्य साढे ५ प्रतिशतभन्दा बढी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य करिब ५ प्रतिशतले वृद्धि भएको छ। यता, एभरेष्ट कलर लिमिटेडको शेयरमूल्यमा भने सबैभन्दा धेरै ५.४५ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमको आधारमा यस दिन एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ। बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। आगामी मंसिर ११ गते ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गर्ने तयारी गरिरहेको यस बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो। यसबाहेक पिपुल्स हाइड्रोपावरको १५ करोडभन्दा बढी र सेन्ट्रल फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।















