भारतमा लगानी भित्र्याउने प्रतिस्पर्धा, आन्ध्र प्रदेशलाई गोप्य सूचना बेचेको शङ्कामा तामिलनाडुका १५ कर्मचारी बर्खास्त
छिमेकी भारतकाे तामिलनाडु भित्रिन लागेका सम्भावित औद्योगिक लगानीका गोप्य विवरणहरू छिमेकी राज्य आन्ध्र प्रदेशलाई चुहाएको आशङ्कामा विजय नेतृत्वको सरकारले लगानी प्रवर्द्धन निकायका १५ करार कर्मचारीलाई बर्खास्त गरेको छ।
काठमाडाैँ । तामिलनाडु भित्रिन लागेका सम्भावित लगानीसम्बन्धी गोप्य विवरणहरू छिमेकी राज्य आन्ध्र प्रदेशका समकक्षीहरूलाई चुहाएको आशङ्कामा तामिलनाडुको उद्योग विभागले राज्यको लगानी प्रवर्द्धन निकाय ‘गाइडेन्स तामिलनाडु’ मा आबद्ध १५ जना कर्मचारीलाई बर्खास्त गरेको छ।
उद्योग विभागको स्रोतका अनुसार पछिल्लो समय बर्खास्तगीमा पर्नेहरूमा करार सेवाका कर्मचारीहरू रहेका छन्। ‘गाइडेन्स तामिलनाडु’ ले राज्यमा औद्योगिक लगानी भित्र्याउन र सहजीकरण गर्न मुख्य निकायका रूपमा काम गर्नुका साथै प्रस्तावित परियोजनाहरूसँग सम्बन्धित संवेदनशील सूचनाहरूको व्यवस्थापन गर्ने गर्छ।
राज्यमा ‘टिभिके’ नेतृत्वको सरकार सत्तामा आएयता तामिलनाडुले छिमेकी आन्ध्र प्रदेशका कारण लगानी गुमाउनुपरेको भन्दै विपक्षी दलहरूले निरन्तर आलोचना गरिरहेका बेला सरकारले यो कदम चालेको हो।
हटाइएका कर्मचारी आन्ध्र प्रदेशको बोर्डमा
यो कारबाही करिब तीन महिनाअघि ‘गाइडेन्स तामिलनाडु’ का तीन जना कर्मचारीलाई हटाइएको घटनाकै निरन्तरताका रूपमा आएको छ। तामिलनाडुको लगानीसम्बन्धी तथ्याङ्क चुहाएको आरोप लागेपछि हटाइएका प्रिया प्रसाद, क्रिस्टो लरेल एल र प्रभाकरण पछि ‘आन्ध्र प्रदेश आर्थिक विकास बोर्ड’ (एपीईडीबी) मा आबद्ध भएका थिए।
लिङ्क्डइनमा सार्वजनिक गरिएका पोस्ट र तस्बिरहरूमा ती तीनै जनालाई सन् २०२६ को ‘सीआईआई पार्टनरसिप समिट’ लगायत आन्ध्र प्रदेशसँग सम्बन्धित कार्यक्रमहरूमा सम्मान गरिएको देखिन्छ। उनीहरूले आफ्ना पोस्टहरूमा ‘गाइडेन्स तामिलनाडु’ मा वर्षौँ काम गरेपछि अब मुख्यमन्त्री एन चन्द्रबाबु नायडुको नेतृत्वमा रहेको आन्ध्र प्रदेश आर्थिक विकास बोर्डमार्फत नयाँ अध्याय सुरु गरेको उल्लेख गरेका छन्।
उद्योग विभागको स्रोतले तामिलनाडुमा सरकार परिवर्तन भएपछि उक्त निकायबाट अन्य थुप्रै कर्मचारीहरू बाहिरिएको समेत पुष्टि गरेको छ।
सत्तापक्ष र प्रतिपक्षको जुहारी
टिभिके नेतृत्वको सरकारमाथिको आलोचना मुख्यगरी हुवाशिन, सियोन र इवामेट नामक तीन दक्षिण कोरियाली अटोमोबाइल पार्टपुर्जा उत्पादक कम्पनीहरूमा केन्द्रित थियो। हुन्डाई र कियाका आपूर्तिकर्तासमेत रहेका ती कम्पनीहरूले आन्ध्र प्रदेशको अनन्तपुरमा उत्पादन केन्द्र स्थापना गर्न कुल १ हजार ६१४ करोड भारु लगानी गर्ने प्रतिबद्धता जनाएका थिए।
ती परियोजनाहरूबाट करिब १ हजार ४१८ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। तामिलनाडुका अधिकारीहरूले ती कम्पनीहरूसँग छलफलसमेत गरेका थिए। तर, लगानी आन्ध्र प्रदेश गएपछि विपक्षीहरूले यसलाई राज्यको अटो-कम्पोनेन्ट इकोसिस्टमका लागि ठूलो धक्काका रूपमा चित्रण गर्दै औद्योगिक लगानी जोगाउन र भित्र्याउन सक्ने सरकारको क्षमतामाथि प्रश्न उठाएका थिए।
यद्यपि, तामिलनाडु सरकारले पछि उक्त निर्णय विशुद्ध आपूर्ति शृङ्खला (सप्लाई चेन) बाट प्रेरित रहेको स्पष्ट पारेको थियो। पार्टपुर्जा आपूर्तिकर्ताहरू सामान्यतया आफ्ना मुख्य उपकरण निर्माता (ओईएम) नजिकै बस्न रुचाउने भएकाले अनन्तपुरमा रहेको कियाको प्लान्टलाई पछ्याउँदै ती कम्पनीहरू त्यहाँ गएको र तामिलनाडुबाट पलायन नभएको सरकारको तर्क थियो।
सरकारले विपक्षीहरूको व्याख्यालाई औद्योगिक वास्तविकताको बङ्ग्याइएको रूप भन्दै कुनै पनि राज्यले हरेक एकल लगानी आफैँले पाउने अपेक्षा गर्न नसक्ने बताएको थियो।
आन्ध्र प्रदेशमा कियाको उपस्थिति हुँदाहुँदै पनि तामिलनाडुले यसअघि अन्य कोरियाली आपूर्तिकर्ताहरूलाई भित्र्याउन सफल भएको र पछि हुवाशिन तथा सियोनबाटै राज्यमा रहेका उनीहरूका विद्यमान उद्योग विस्तारका लागि करिब १ हजार ३७० करोड भारुको नयाँ लगानी प्रतिबद्धता प्राप्त गरेको सरकारले जनाएको छ। यसले राज्यको निरन्तरको प्रतिस्पर्धी क्षमतालाई पुष्टि गर्ने सरकारको भनाइ छ।
आन्ध्र प्रदेशको खण्डन
आफ्नो तर्फबाट तेलुगु देशम पार्टी (टीडीपी) का प्रदेश अध्यक्ष पल्ला श्रीनिवास रावले आन्ध्र प्रदेश सरकारमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै आफ्नो राज्यले लगानीमैत्री नीतिमार्फत नै लगानीकर्ताहरूलाई आकर्षित गर्ने गरेको बताए। उनले आन्ध्र प्रदेशको आफ्नै कार्यशैली रहेको र औद्योगिक विकासका लागि अनुकूल वातावरण निर्माण गरिरहेको उल्लेख गरे।
यसैबीच, शुक्रबार ‘गाइडेन्स तामिलनाडु’ ले एक स्पष्टीकरण जारी गर्दै सन् २०२६ को जुलाईमा संस्थाबाट सामूहिक राजीनामा नभएको र कर्मचारीहरूले जागिर छोड्नु एक सामान्य संस्थागत प्रक्रिया रहेको बताएको छ। स्पष्टीकरणमा कर्मचारीहरूले करियरका राम्रा अवसर, उच्च शिक्षा, बसाइँसराइ र व्यक्तिगत वा पारिवारिक प्रतिबद्धता जस्ता विभिन्न व्यक्तिगत तथा व्यावसायिक कारणले संस्था छोड्ने गरेको उल्लेख छ।
संस्थाले अन्यत्र अवसर खोज्ने छनोट गर्नेहरू सहित आफ्ना सबै कर्मचारीको व्यावसायिक आकाङ्क्षाको सधैँ सम्मान गर्दै आएको पनि जनाएको छ।
लगानी भित्र्याउने र रोजगारीका अवसर सिर्जना गर्ने विषयमा तामिलनाडुले छिमेकी राज्यहरूसँग सधैँ स्वस्थ र रचनात्मक प्रतिस्पर्धा कायम राख्दै भारतको समग्र आर्थिक वृद्धिमा योगदान पुर्याइरहेको संस्थाले बताएको छ। लगानीका लागि रोजाइको गन्तव्यका रूपमा राज्यको स्थानलाई दोहोर्याउँदै ‘गाइडेन्स तामिलनाडु’ ले स्वदेशी तथा विदेशी दुवै लगानीकर्ताहरूलाई आकर्षित गर्ने क्रम जारी रहेको स्पष्ट पारेको छ।















