७ मंसिर २०८३, सोमबार

भारतका सबैभन्दा ठूला दुई बन्दरगाहमा नेपाललाई पहूँच, अब पश्चिम तटबाट पनि सामान ल्याउन पाइने



काठमाडौँ । भारतले गुजरात र ओडिशाका बन्दरगाहहरु समेत प्रयोग गर्न नेपाललाई बाटो खोलिदिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका दौरान यस्तो सहमति बनेको हो ।

दुई प्रधानमन्त्रीको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘नेपालको पारवहन व्यापारलाई अझ सुगम बनाउनका लागि गुजरातको काण्डला बन्दरगाह र ओडिशाको पारादीप बन्दरगाहमा नेपाललाई पहूँच उपलब्ध गराउने भएका छौँ ।’

यसअघि नेपालले मुन्द्रा बन्दरगाह प्रयोगको अनुमति मागेको भन्ने समाचारहरु आएको भए पनि ती खबरमा पर्याप्त सत्यता नभएको देखिएको छ । मुन्द्रा बन्दरगाह भारतको सबैभन्दा ठूलो बन्दरगाह हो र त्यहाँ ठूला समुद्री जहाजहरु ल्याउन सकिन्छ ।

काण्डला बन्दरगाह पनि गुजरातकै कच्छ खाडीमा छ । तर योे खाडीको भित्री भागमा पर्ने भएकाले यसमा मध्येम र साना स्तरका जहाजहरुमात्रै आउँछन् । ठूला जहाज ल्याउन ज्वारभाटा कुर्नुपर्छ ।

नेपाललाई पहूँच दिइएका दुबै बन्दरगाहहरु भारतको केन्द्रीय सरकार अन्तर्गतका बन्दरगाह प्राधिकरणहरूले सञ्चालन गर्छन्। काण्डला बन्दरगाह दीनदयाल पत्तन प्राधिकरणले सञ्चालन गर्छ भने पारादीप बन्दरगाह सरकारको पारादीप बन्दरगाह प्राधिकरणले सञ्चालन गर्छ ।

मुन्द्रा बन्दरगाह चाहीँ गौतम अडानीको कम्पनीले व्यवस्थापन गर्छ । ओडिशामा पनि अडानीले सञ्चालन गर्ने धान्द्रा बन्दरगाह मागिएको भन्ने खबरहरु आएको भए पनि त्यसमा पर्याप्त सत्यता नभएको देखिएको छ । ओडिशाको सबैभन्दा ठूलो र गहिरो समुद्री बन्दरगाह पारादीपमै नेपालले पहूँच पाएको छ ।

यसअघि भारतले नेपाललाई कलकत्ताको हुगली नदीमा रहेको हल्दिया बन्दरगाह प्रयोग गर्ने अनुमति दिएको थियो । त्यसपछि लामो प्रयासपश्चात् आन्ध्र प्रदेशको विशाखापट्टनम् बन्दरगाह प्रयोग गर्ने अनुमति पायो ।

प्राकृतिक र सुरक्षित मानिने भएकाले विशाखापट्टनम् बन्दरगाह हाल नेपालको तेस्रो मुलुकको व्यापारको मुख्य मार्गका रुपमा देखिएको छ । यो बन्दरगाह भारतका सबैभन्दा गहिरोमध्येमा पर्छ ।

तर अब पूर्वी तटको प्रमुख ‘मेगा पोर्ट’ पारादीप र पश्चिमी तटको प्रमुख सरकारी पोर्ट काण्डला प्रयोग गर्ने अनुमति पाएपछि नेपाललाई वैदेशिक व्यापारमा निकै सहज हुने भएको छ ।

क्षमताका हिसाबले मुन्द्राभन्दा पछाडी काण्डला भारतकै दोस्रो र पारादीप तेस्रो ठूलो बन्दरगाह हुन् । सरकारी व्यवस्थापनमा रहेको बन्दरगाहको सूचीमा यी क्रमश: १ र २ नम्बरमा आउँछन् ।