आर्थिक समृद्धिको साझेदार बन्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री शाहको आह्वान
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्धलाई भावनात्मक, ऐतिहासिक र विकास साझेदारीको नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ दिल्लीमा आयोजित द्विपक्षीय प्रतिनिधिमण्डल स्तरको वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुवै देशको साझा समृद्धि, जलवायु सहकार्य, शिक्षा, लगानी र प्रत्यक्ष हवाई सम्पर्क विस्तारमा विशेष जोड दिएका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धको गहिराइलाई चित्रण गर्दै भने, “आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव नेपाल–भारत सम्बन्धका आधारशिला हुन्। नेपाल र भारतबिचको सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ।”
प्राकृतिक विपद् तथा कठिन घडीहरूमा भारतले सधैँ एक भरपर्दो छिमेकीका रूपमा अग्रपङ्क्तिमा रहेर सहयोग गरेको भन्दै उनले भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गरे।
समझदारीको प्रतिफल आम नागरिकको जीवनमा देखिनुपर्नेमा जोड
दुवै देशबीच सम्पन्न वार्तामा बहुआयामिक सम्बन्धका सम्पूर्ण पक्षहरूमा सारगर्भित छलफल भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भएका सम्झौता र परियोजनाहरू कागजमा मात्र सीमित नभई नागरिकको जीवनस्तर उकास्ने खालको हुनुपर्ने बताए।
“आज हामीबिच भएका समझदारी र अघि बढाइएका परियोजनाहरूको प्रतिफल हाम्रा किसानहरूको खेतबारीमा समृद्धिका रूपमा, युवाहरूको हातमा रोजगारी र अवसरका रूपमा, विद्यार्थीहरूका सपनामा नयाँ क्षितिजका रूपमा र उद्यमीहरूका लागि नयाँ बजार, लगानी तथा व्यवसाय विस्तारका ठोस मार्गका रूपमा रूपान्तरित हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,” उनले भने।
उनले आपसी विश्वास र सहकार्यमार्फत दुई देशको सम्बन्धलाई युवा पुस्ताका लागि अवसरका ढोका खोल्ने ‘रूपान्तरणकारी विकास साझेदारी’ मा बदल्नुपर्ने ऐतिहासिक जिम्मेवारी काँधमा आएको धारणा राखे।
आर्थिक तथा शैक्षिक साझेदारीलाई फराकिलो बनाउने प्रस्ताव अघि सार्दै प्रधानमन्त्री शाहले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न चाहेको बताए। साथै, नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीहरूसमेत अध्ययन गर्न आउने वातावरण तयार पार्नुपर्नेमा उनले जोड दिए। नागरिकको सहज आवागमनका लागि दुवै देशका प्रमुख सहरहरूबीच सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
जलवायु परिवर्तन र धार्मिक पर्यटनमा साझा अपिल
हिमालयबाट बगेर गङ्गामा मिसिने कञ्चन नदीहरूले दुवै देशको साझा भविष्य र नियतिको स्मरण गराउने बताउँदै शाहले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे। सम्बोधनको अन्त्यमा उनले भारतीय नागरिकहरूलाई नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूको भ्रमण गर्न निम्तो दिए।
“म मित्रराष्ट्र भारतका जनतालाई हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भूमि नेपाल भ्रमण गर्न हार्दिक आमन्त्रण गर्दछु,” प्रधानमन्त्री शाहले भने।
दुवै देशले साझा र समृद्ध भविष्यतर्फको मार्गचित्रका रूपमा ‘संयुक्त दृष्टिकोण दस्ताबेज’ (ज्वाइन्ट भिजन डकुमेन्ट) समेत प्रस्तुत गर्ने उनले जानकारी दिए।















