उकालो यात्रामा नेप्से : ८.६६ अंकले बढ्यो परिसूचक, कारोबार रकम पनि ६ अर्ब नाघ्यो
काठमाडौँ । लगातार तेस्रो कारोबार दिन नेप्सेमा वृद्धि देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.६६ अंकले उकालो लाग्दै २६४७.६१ विन्दुमा पुगेर बन्द भएको हो।
परिसूचकमा सुधार आएसँगै आज बजारमा ६ अर्ब १४ करोड ६० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। दिनभरिमा विभिन्न कम्पनीका कुल १ करोड ६५ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचकमा हरियाली रह्यो भने ३ वटा उपसमूहमा सामान्य गिरावट देखिएको छ। यस दिन विकास बैंक उपसमूह सर्वाधिक ०.९९ प्रतिशत (५४.७९ अंक) ले उकालो लागेको छ ।
बुधबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। कारोबारमा आएकामध्ये १७० वटा कम्पनीको सेयर मूल्य उकालो लाग्दा १०१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनकै विन्दुमा स्थिर रह्यो।
आजको कारोबारमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य १०.९८ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, हिमालयन उर्जा विकास कम्पनीको ८.६२ प्रतिशत, कालिका लघुवित्तको ५.९६ प्रतिशत, मानुषी लघुवित्तको ५.५७ प्रतिशत र सनराइज ब्लु चिप फन्डको सेयर मूल्य ५.३२ प्रतिशतले बढेको छ।
कारोबार रकम (टर्नओभर) का आधारमा हिमालयन उर्जा विकास कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको एक्लै ३४ करोड ७४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।















