९ मंसिर २०८३, बुधबार

लगानी विस्तार र प्रतिफल फिर्ता लैजाने गाँठो फुकाइदिन सरकारसँग चन्द्र ढकालको माग



काठमाडौँ । २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी र विशेषगरी भारतीय लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताहरू समस्यामा परेको भन्दै तत्काल गाँठो फुकाइदिन निजी क्षेत्रले सरकारसँग आग्रह गरेको छ।

बुधबार काठमाडौँमा १२ औँ राष्ट्रिय उद्योग दिवसको मूल समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अभिलेखीकरणको अभावमा व्यवसाय विस्तार गर्न, थप पुँजी ल्याउन, आर्जित प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत कठिन भइरहेको बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र सचिवको ध्यानाकर्षण गराउँदै ढकालले उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्तो लेखांकनको बाटो खोलिदिनुपर्ने सुझाव दिए। नेपालमा पहिलेदेखि नै काम गरिरहेका लगानीकर्ताका समस्या समाधान भए अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश जाने र त्यसले नयाँ वैदेशिक लगानी भित्र्याउन मद्दत पुग्ने उनको भनाइ छ।

कानुन संशोधनको कार्यान्वयनमा जोड

समारोहमा सम्मानित व्यक्तित्वका तर्फबाट धारणा राख्दै ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य संवाहकका रूपमा स्वीकार गरेको भन्दै प्रशंसा गरे। नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गर्नु सकारात्मक सुरुवात भएको उनले उल्लेख गरे।

रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिकालाई सरकारले आत्मसात् गरेको बताउँदै ढकालले कानुन संशोधनको प्रभावकारी कार्यान्वयनको माग गरे। पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारी कदम सराहनीय रहेको भन्दै उनले यसको मर्मअनुसार तल्लो तहसम्म काम हुनुपर्नेमा जोड दिए।

उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा सुरु गरेको प्रविधिमैत्री अभ्यास र सहजीकरणले आगामी दिनमा नीतिगत सुधारलाई अझ तीव्रता दिने विश्वास उनले व्यक्त गरे।

‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ उद्योग मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा उद्योग मन्त्री, सचिव, राष्ट्रिय योजना आयोगका सदस्य र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। सोही अवसरमा उद्योग क्षेत्रमा पुर्‍याएको योगदानका लागि ढकाललाई सम्मानसमेत गरिएको थियो।