आर्थिक मन्दी र लघुवित्त विरुद्धको अन्दोलनको असरः उच्च दरमा बढ्यो खराब कर्जा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आर्थिक मन्दी र लघुवित्त विरुद्धको अन्दोलनको असरः उच्च दरमा बढ्यो खराब कर्जा



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा खराब कर्जा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको ६४ लघुवित्त वित्तिय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुको खराब कर्जा ६० प्रतिशतले बढेको हो । प्रतिवेदनअनुसार लघुवित्तहरुको औसत खराब कर्जा ४.१८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा उनीहरुको खराब कर्जा २.६१ प्रतिशत थियो ।

पुससम्म थोक कर्जा प्रवाह गर्ने चार लघुवित्तको खराब कर्जा १२१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म उक्त लघुवित्तहरुको निष्क्रिय कर्जा अनुपात ०.३४ प्रतिशत थियो । चालु आवको समिक्षा अवधिमा त्यस्तो अनुपात बढेर ०.८७ प्रतिशत पुगेको छ । रकमका आधारमा उनीहरुको ५२ करोड रुपैयाँ बराबरको निष्क्रिय रहेको छ ।

यस्तै, खुद्रा कर्जा प्रवाह गर्ने ६० लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा भने ५९ प्रतिशतले बढेको छ । गत आवको समिक्षा अवधिमा कम्पनीहरुको निष्क्रीय कर्जा अनुपात २.९४ प्रतिशत रहेको थियो ।

चालु आवका समिक्षा अवधिमा आउँदा त्यो बढेर ४.६८ प्रतिशत पुगेको छ । रकमका आधारमा उक्त लघुवित्तहरुको १८ अर्ब ३४ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय रहेको छ ।

लघुवित्त क्षेत्रमा देखिएको पछिल्ला गतिविधीले खराव कर्जा बढेको अनुमान समेत गरिएको छ । लघुवित्तले सेवा शुल्क बढी ल्याए भन्ने लगायतका विषयमा पछिल्लो समय लघुवित्त विरुद्धको आन्दोलन चर्किएको छ । ऋण नतिर्ने अभियान सञ्चालन भएको छ । फलस्वरुव ऋण असुल नहुदाँ खराव कर्जा बढको बताइन्छ ।

यस्तै, कोरोना महामारी, आर्थिक मन्दीका कारण ऋणीहरुको ऋण तिने क्षमता पनि घटेको छ, त्यसको असरले ऋण असुल नहुदाँ निष्क्रिय कर्जा बढेको जानकारहरु बताउछन् । लघुवित्त विरुद्धको आन्दोलनका कारण गाउँ–गाउँमा गएर ऋण असुल गर्ने अवस्था पनि छैन, त्यसले गर्दा पनि कर्जा असुल नहुदाँ खराब ऋण बढेको बताइन्छ ।

चालु आवको पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । लघुवित्त वित्तीय संस्थाले गत पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४७.४२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । तर, गत असार मसान्तमा कृषि क्षेत्रमा ४६.११ प्रतिशत कर्जा प्रवाह भएको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा २.७१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २८.९६ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्