८ श्रावण २०८३, शुक्रबार

तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौतामा हस्ताक्षर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको परियोजना विकास सम्झौतामा हस्ताक्षर भएको छ ।

जेठ १८ गते बिहीबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको समुपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीका तर्फबाट एसजेभीएन लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले परियोजना विकास सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

लगानी बोर्डको ५३ औं बैठकले गठन गरेको वार्ता समितिले विकासकर्तासँग चरणवद्ध रूपमा वार्ता गरी तयार गरेको परियोजना विकास सम्झौताको दस्तावेजलाई ५४औं बैठकले अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरेको थियो ।

मन्त्रिपरिषदले सम्झौताको दस्तावेज स्वीकृत गरी हस्ताक्षर गर्नका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवारी दिएको थियो । सोही अनुरूप विकासकर्ता एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग सम्झौता भएको हो ।

यसका साथै प्रधानमन्त्रीले बिहीबार नै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया-नेपाल विजेनेश समिट’लाई सम्बोधन गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे । समिटमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका विभिन्न क्षेत्रहरूमा लगानीका अवसर सिर्जना हुँदै गइरहेको र लगानीका लागि उपयुक्त गन्तव्य रहेकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरे। उक्त समिटलाई सम्बोधन गर्ने क्रममा भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले उक्त आह्वानलाई समर्थन गर्दै नेपालमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई उत्प्रेरित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्