विद्युत् बिक्री बढेपछि घट्यो न्यादी हाइड्रोपावरको नोक्सानी
काठमाडौं । न्यादी हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सान व्यहोरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी १६ करोड ६६ लाख ७३ हजार रुपैयाँको नोक्सानीमा छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ । विद्युत बिक्रीबाट आम्दानी बढेकै कारण यसले आफ्नो नोक्सानीमा केही कमी ल्याउन सकेको देखिन्छ ।
यसले विद्युत् बिक्रीबाट ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोताट हुने आम्दानी ७८ हजार रुपैयाँ छ । कम्पनीको परियोजना सञ्चालन खर्च २६ करोड ४१ लाख रुपैयाँ र प्रशासनिक खर्च ३ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वित्त खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्त आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
गत असार मसान्तसम्म यसको चुक्ता पुँजी १ अर्ब ५० करोड छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ ०२ पैसा छ ।













