बैंकहरुमा लगानीयोग्य रकम फालाफाल: आरविवि, ग्लोबल र एनआइएमबिसंग टन्नै, सीडी रेसियो कुनको कति ?

काठमाडौं । बैंकहरुमा लगानीका लागि रकम फालामाल नै देखिएको छ । हाल वाणिज्य बैंकहरु साढे ६ खर्ब रुपैयाँ सहज रुपमा लगानी गर्न सक्ने अवस्थामा छन् ।
तर, कर्जाको माग नहुँदा बैंकमै पैसा थुप्रिएको छ । बैंकहरुमा निक्षेप बढेको बढ्यै छ । तर, कर्जा विस्तार भने एकदमै सुस्त छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्यून हुँदा तरल व्यवस्थापनका लागि केन्द्रिय बैंकले बजारबाट रकम तानिरहेको छ ।
नेपाल बैंकर्स संघबाट प्राप्त मंसिर मसान्तसम्मको आँकडाले भने बैंकहरुका निक्षेप संकलन र कर्जा प्रवाह दुवै सुधार भएको देखाउँछ । संघका अनुसार मंसिरमा ३३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप बढेको छ । यता, सो महिनामा ४२.२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
मंसिर मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप ५९ खर्ब ३६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी पनि बढेर ४७ खर्ब २१ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ । गत कात्तिकमा बैंकहरुको कुल निक्षेप ५९ खर्ब ४ अर्ब र कर्जा लगानी ४६ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो । कात्तिकमा बैंकहरुको निक्षेप १९ अर्ब र कर्जा लगानी २ अर्ब घटेको थियो ।
कात्तिकको तुलनामा कर्जा विस्तारमा सुधार देखिएता पनि हाल बैंकहरुसँग ६ खर्ब ५६ अर्ब ३ करोड बढी रकम लगानीयोग्य छ । लगानीयोग्य रकम बैंकहरुमा थुप्रिएसँगै कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो पनि ६१ प्रतिशतको बिन्दुमा आइपुगेको देखिन्छ ।

मंसिरमा औसत सीडी रेसियो ७८.९५ प्रतिशत छ । यसकै आधारमा हाल बैंकहरुसँग ६ खर्ब ५६ अर्ब बढी रकम लगानीयोग्य नै छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । हाल सबै बैंकहरु सहज अवस्थामा कर्जा प्रवाह गर्ने सक्ने अवस्थामा छन् ।
मंसिर मसान्तमा राष्ट्रिय वाणिज्य बैंक (आरविवि) को सीडी रेसियो सबैभन्दा कम देखिएको छ । बैंकको सीडी रेसियो ६१.५४ प्रतिशत छ । सो अवधिमा आइपुग्दा बैंकले ४ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकसँग १ खर्ब २७ अर्ब २९ करोड बढी रकम कर्जा लगानीका लागि योग्य छ ।
यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ६९.०७ प्रतिशत छ । हाल बैंकसँग २५ अर्ब बढी रकम लगानीयोग्य छ ।
सीडी रेसियोको आधारमा नेपाल एसबिआई बैंकसँग ३३ अर्ब ४२ करोड, प्रभू बैंकसँग ४५ अर्ब ९७ करोड, कृषि विकाससँग ३८ अर्ब ४५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगासँग ५६ अर्ब ६५ करोड, लक्ष्मी सनराइजसँग ४३ अर्ब २६ करोड, ग्लोबल आइएमईसँग ६२ अर्ब ३८ करोड, हिमालयनसँग ३५ अर्ब ९८ करोड रुपैयाँ छ । हाल यी बैंकहरुको सीडी रेसियो क्रमशः ७२ प्रतिशत, ७४.९४ प्रतिशत, ७५.०८ प्रतिशत, ७७.३७ प्रतिशत, ७७.७१, ७८.२० र ७८.३३ प्रतिशत रहेको छ ।
यस्तै, नेपाल बैंकको सीडी रेसियो ७८.८३ प्रतिशत, सानिमाको ८०.५९ प्रतिशत, नबिलको ८२.०५, सिटिजनको ८१.१९, माछापुच्छ्रेको ८२.३२, सिद्धार्थको ८२.८६, कुमारीको ८३.६० प्रतिशत छ । सीडी रेसियोको आधारमा यी बैंकहरुसँग हाल क्रमशः ३३ अर्ब ५६ करोड, १९ अर्ब ४४ करोड, ३९ अर्ब १४ करोड, १५ अर्ब २९ करोड, १२ अर्ब ७४ करोड २२ अर्ब ९७ करोड रुपैयाँ लगानी योग्य रकम छ ।
रकमको आधारमा सबैभन्दा कम एनएमबि बैंकसँग ६ अर्ब ९७ करोड रुपैयाँ लगानीयोग्य छ । यता, एनआइसी एशिया बैंकसँग १८ अर्ब २७ करोड, एभरेष्टसँग ११ अर्ब ३६ करोड र प्राइमसँग ९ अर्ब ४५ करोड रुपैयाँ लगानीयोग्य देखिएको छ ।
कुन बैंकको निक्षेप संकलन, कर्जा लगानी र सिडी रेसियो कति ? (रकम अर्बमा)
