बीमा व्यवसाय निरन्तर उकालो, बजार शिथिलताको असर सकिएको हो ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बीमा व्यवसाय निरन्तर उकालो, बजार शिथिलताको असर सकिएको हो ?



काठमाडौं । आर्थिक शिथिलताका कारण प्रभावित नेपाली बीमा बजार पुनः गतिशिल बन्न थालेको छ । सुस्ताएको बीमा व्यवसाय हाल विस्तारै सुधरोन्मुख छ ।

पछिल्लो महिनाहरुमा भने कम्पनीहरुको व्यवसाय क्रमिक रुपमा बढेका देखिन्छ । ९ महिनामै बीमा व्यवसायका आकार डेढ खर्ब माथि छ । व्यवसाय वृद्धिदर झन्डै १४ प्रतिशत छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ५९ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १३.९३ प्रतिशत धेरै हो । गत आवको चैत मसान्तसम्ममा पनि कम्पनीहरुले १ खर्ब ४० अर्ब ३१ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेसँगै कम्पनीहरुको व्यवसायको आकार पनि सकरात्मक रुपमा वृद्धि भएको छ ।
व्यवसाय विस्तारमा जीवन बीमा कम्पनीहरु निकै आक्रामक देखिएक छन् । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १५.३२ प्रतिशत वृद्धि भएको छ । ९ महिनामा कम्पनीहरुले १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन संकलन गरेका छन् । जबकि, गत आवको चैत मसान्तसम्म आइपुग्दा कम्पनीहरुको यस्तो बीमा शुल्क १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

जीवन बीमा कम्पनीहरु नयाँ व्यवसाय बढाउन झनै आक्रामक देखिएका छन् । कम्पनीहरुले ९ महिनामा २७ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने २७ अर्ब .५४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा पनि कम्पनीहरुको यस्तो बीमा शुल्क २१ अर्ब ५४ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

पुरानै व्यवसाय पनि दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीहरुको पुरानो व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क १२.३५ प्रतिशत वृद्धि भई ३५ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको सोही अवधिमा भने ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

हाल १ करोड ४३ लाख ९९ हजार ५७३ वटा जीवन बीमालेख सक्रिय रहेका छन् । जबिक, गत आवको तेस्रो त्रैमासमा भने कुल १ करोड ३८ लाख ६६ हजार ६१५ वटा जीवन बीमालेख सक्रिय थिए । बीमा शुल्क आर्जन बढाए पनि जारी जीवन बीमालेखको संख्या भने १३.२ प्रतिशत घटेको देखिन्छ । ९ महिनामा कम्पनीहरुाले ४४ लाख १३ हजार २२ वटा जीवन बीमालेख बिक्री गरेका छन् । जबकि, गत वर्षको सोही अवधिमा भने ५० लाख ८६ हजार ८९० वटा बीमालेख बिक्री गरेका थिए ।

निर्जीवन बीमा व्यवसायको वृद्धिदर पनि निरन्तर उकालो, बीमालेख बिक्री पनि साढे ६ प्रतिशत बढ्यो

जीवन बीमाको तुलनामा निर्जीवन बीमा व्यापार वृद्धिदर कम देखिन्छ । निर्जीवन बीमा व्यापार ८.८३ प्रतिशत बढेको छ । ९ महिनामा कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा ८.८३ प्रतिशत बढी हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीहरुले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।कम्पनीहरुको निर्जीवन बीमालेख बिक्री दर ६.६३ प्रतिशत धनात्मक छ । ९ महिनामा कम्पनीहरुले २४ लाख १२ हजार ३३१ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने २२ लाख ६२ हजार ३२६ वटा मात्रै बिक्री गरेका थिए ।

बीमा व्यवसायसँगै दायरा पनि थप फराकिलो बन्दै गएको देखिन्छ । हाल कुल जनसंख्याको ४४.६४ प्रतिशतमा बीमा पहुँच पुगेको छ । आर्थिक शिथिलता लगायतका कारण पछिल्लो समय बीमाको दायरामा आएको जनसंख्या प्रतिशत पनि घट्दो थियो । अर्थतन्त्र चलायमान नहुँदा व्यवसायको आकार पनि घट्दो थियो । बीमाको दायरा पनि खुम्चिँदो नै थियो । तर, पछिल्लो समय भने केही आर्थिक गतिविधिसँगै कम्पनीहरुको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।

हाल बीमा कम्पनीहरुको देशभर २ हजार ९९९ वटा कार्यालय छन् । जबकि, गत आवको चैतमा २ हजार ९३६ वटा थिए । प्राधिकरणका अनुसार हाल जीवन बीमा कम्पनीहरुको कार्यालय १ हजार ८४४ र निर्जीवन बीमाको १ हजार ११५ वटा छन् ।

यता, हाल बीमा क्षेत्रमा १२ हजार ९१ कर्मचारी आवद्ध छन् । बीमा क्षेत्रमा आवद्ध हुने कर्मचारीको संख्या एक वर्षमै ४.५१ प्रतिशत वृद्धि भएको हो । हाल जीवन बीमा कम्पनीमा ६ हजार ५५ र निर्जीवन बीमामा ६ हजार ३६ जना कम्पनीहरु आवद्ध छन् ।


प्रतिक्रिया दिनुहोस्