उपभोक्ताको विश्वास जित्दै निर्जीवन बीमा : व्यवसायसँगै दावी भुक्तानी पनि उकालो, कसले कति दिए ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

उपभोक्ताको विश्वास जित्दै निर्जीवन बीमा : व्यवसायसँगै दावी भुक्तानी पनि उकालो, कसले कति दिए ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यापारसँगै दावी भुक्तानी पनि बढाएका छन् । कम्पनीहरुको दावी भुक्तानी ३४ प्रतिशत वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको ‘निर्जीवन बीमा पोलिसी, प्रिमियम र दाबी’ विवरणको तथ्याङ्कले यस्तो देखाएको हो ।

हाल १४ वटा ठुला र ४ वटा लघु गरि कुल १८ वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । ती कम्पनीहरुले २४ लाख १३ हजार ३३१ वटा बीमालेख जारी गरेका छन् । चालु आवको ९ महिनामा कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेका छन् । त्यसको ५०.६१ प्रतिशत दावी भुक्तानी दिएका छन् ।

कम्पनीहरुले चैत मसान्तसम्म आइपुग्दा कम्पनीहरुले १६ अर्ब ६० करोड ९४ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् । कम्पनीहरुले कुल १ लाख २ हजार १०९ वटा बीमालेखमा सो बराबरको भुक्तानी दिएका हुन् ।

कुल व्यवसाय ८.८३ प्रतिशत बढेको छ । तर, दावी भुक्तानी भने ३४.२३ प्रतिशत बढाएका छन् । गत आवको साउनदेखि चैतसम्म कम्पनीहरुले १२ अर्ब ३७ करोड ४० लाख रुपैयाँ दावी भुक्तानी गरेका थिए । कम्पनीहरुले १ लाख ६ हजार ७६३ वटा बीमालेख सो बराबरको दावी भुक्तानी दिएका थिए ।

पछिल्लो समय देशभर विभिन्न स्थानमा आगलागी, बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपहरू बढेका छन् । जसले विशेषगरी सम्पत्ति बीमामा दावीको संख्या र रकम दुवै बढाएको देखिन्छ । गत गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी पहिरोको कारण कम्पनीहरुमा ठुलो आकारको दावी परेको छ । बाढी तथा पहिरोले ठुला–ठुला जलविद्युत आयोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो ।

यस्तै, गत चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न ठाउमा भएका आन्दोलन तथा प्रदर्शनीबाट पनि धेरै घर, गाडी तथा अन्य पूर्वाधारहरुमा क्षति पुगेको थियो । प्राकृतिक विपत्ति बाढी पहिरो तथा आन्दोलन लगायतका कारण कम्पनीहरुले क्षतिपुर्ति बापत ठुलो बीमा दावी भुक्तानी गर्नुपरेको छ ।

अर्को तर्फ, उपभोक्तामा बीमाप्रति बढ्दो विश्वास, अनलाइन दावी प्रणाली र डिजिटल प्रक्रियाले सहजता ल्याएको छ । जसले गर्दा बीमालेखधारीहरूले सजिलै दावी गर्न थालेका छन् । बीमा व्यवसाय विस्तार हुँदै गर्दा दावी भुक्तानी पनि सोहि अनुपातमा बढ्नु एक सकारात्मक संकेत हो, जसले बीमा क्षेत्रमा पारदर्शिता, विश्वसनीयता र उपभोक्ता भरोसा बढाएको देखिन्छ ।

निर्जीवन बीमा सर्वाधिक हिस्सा ओगटेको मोटर बीमाको दावी भुक्तानी उच्च देखिएको छ । ९ महिनामा कम्पनीहरुले मोटर बीमालेखमा ५ अर्ब ७१ करोड ९५ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् । समिक्षा अवधिमा १२ लाख ७ हजार ४४२ वटा मोटर बीमालेख जारी भएका छन् । त्यसमा ३ लाख ६० हजार ३६ वटा बीमालेखमा भुक्तानी दिएका हुन् । कुल व्यवसायमा मोटर बीमाको हिस्सा २९.९५ प्रतिशत छ ।

दोस्रो ठुलो हिस्सा (२४.९८ प्रतिशत) ओगटेको सम्पत्ति बीमा तर्फ पनि ५ अर्ब २३ लाख ४१ हजार रुपैयाँ दावी भुक्तानी दिएका छन् । कम्पनीहरुले ३ लाख ६४ हजार ४७३ वटा सम्पत्ति बीमालेख जारी गरेका थिए । तर, ३ हजार २५६ वटा बीमालेखमा भुक्तानी दिएका हुन् । यस्तै, विविध बीमामा २ अर्ब १० लाख, इन्जिनियरिङ्ग तर्फ १ अर्ब ६१ करोड ५३ लाख, कृषि बीमा ९५ करोड २३ लाख, सामुन्द्रिक बीमामा ७९ करोड ९१ लाख, लघुबीमा ९ करोड र हवाई बीमामा ८ करोड ९६ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण, रकम दश लाखमा

सलिको र शिखरको सबैभन्दा ठूलो भुक्तानी, कसले कति दिए ?

प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सबैभन्दा धेरै दावी भुक्तानी दिएको छ । कम्पनीले २ अर्ब ५४ करोड ७६ लाख बढी दावी भुक्तानी दिएको हो । कम्पनीले २ लाख १३ हजार ३७४ वटा बीमालेख जारी गरि कुल ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १० हजार ६०२ वटा बीमालेखमा दावी भुक्तानी दिएको जनाएको छ ।

निर्जीवन बीमामा आफ्नै वर्चश्व जमाएको शिखर इन्स्योरेन्सले पनि २ अर्ब ४ करोड ७९ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । शिखरले २ लाख २७ हजार ४२८ वटा बीमालेख बिक्री गरि कुल ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ प्रिमियम उठाएको छ । तर, १५ हजार २९६ वटा बीमालेखमा दावी भुक्तानी गरेको दिइएको छ । कुल दावी भुक्तानीमा सलिकोको हिस्सा १५.२४ प्रतिशत र शिखरको १२.३३ प्रतिशत हुन आउछ ।

यता, आइजीआई प्रुडेन्सियलले पनि १ अर्ब ८६ करोड ६४ लाख, सिद्धार्थ प्रिमियरले १ अर्ब ७५ करोड ८४ लाख, एनएलजीले १ अर्ब ७० करोड, हिमालयन एभरेष्टले १ अर्ब २९ करोड ५८ लाख, युनाईटेड अजोडले १ अर्ब २६ करोड ६ लाख र नेको इन्स्योरेन्सले १ अर्ब ५ करोड ७६ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन् ।

यस्तै, ओरियण्टल इन्स्योरेन्सले पनि ८० करोड ६९ लाख, सानिमा जिआईसीले ६१ करोड ५३ लाख, नेपाल इन्स्योरेन्सले ५४ करोड २४ लाख, नेशनलले ४७ करोड २७ लाख, प्रभूले २८ करोड ५५ लाख, राष्ट्रिय बीमा कम्पनीले २६ करोड ३५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ।

यता, नेपाल माइक्रो इन्स्योरेन्सले पनि ३ करोड २५ लाख, प्रोटेक्टिभले ३ करोड ५ लाख, ट्रष्ट माइक्रोले १ करोड ६५ लाख र स्टार माइक्रो इन्स्योरेन्सले ३२ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण, रकम दश लाखमा


प्रतिक्रिया दिनुहोस्