बीमा शिक्षा : ‘ट्राभल इन्स्योरेन्स’ किन आवश्यक छ ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बीमा शिक्षा : ‘ट्राभल इन्स्योरेन्स’ किन आवश्यक छ ?



काठमाडौं । अन्तर्राष्ट्रिय होस् या आन्तरिक, यात्रा भनेको नयाँ अनुभवहरूको यात्रा हो। तर, साथसाथै, यसमा लुकेका जोखिमहरूलाई पनि बेवास्ता गर्न मिल्दैन । यिनै अनपेक्षित जोखिमहरूबाट यात्रुलाई आर्थिक सुरक्षा प्रदान गर्न ‘ट्राभल इन्स्योरेन्स’ अर्थात् यात्रा बीमा एक महत्वपूर्ण उपायका रूपमा स्थापित हुँदै गएको छ ।

यात्रा बीमा एक यस्तो सम्झौता हो, जसले यात्राको क्रममा आइपर्न सक्ने स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्था, उडान रद्द हुनु, सामान हराउनु वा ढिलो हुनु जस्ता घटनाहरूमा आर्थिक सहयोग पु¥याउँछ ।

किन आवश्यक छ ट्राभल इन्स्योरेन्स ?

उदाहरणका लागि, केही महिना अघि नेपाली गायक नितेश जंग कुँवर अष्ट्रेलियाको सांगितिक यात्रामा जाँदै गर्दा ट्रान्जिटमा उनको पासपोर्ट हरायो। बाध्यतावश उनी नेपाल फर्किएर नयाँ पासपोर्ट बनाउनुप¥यो । यस्तो अप्ठ्यारो अवस्थामा यदि यात्रा बीमा गरिएको भए, उनी भोगेको मानसिक र आर्थिक झन्झट केही हदसम्म घट्न सक्थ्यो ।

बीमा कम्पनीहरूले तपाईंको हराएको पासपोर्ट खोजिदिँदैनन्, तर त्यस्तो घटनाले निम्त्याउने आर्थिक भारमा साथ दिन्छन् । बिरामी परे डाक्टर पठाउँदैनन्, तर उपचार खर्चमा भने सहयोग गर्छन् ।

के–के समावेश हुन्छ ?

यात्रा बीमा अन्तर्गत विभिन्न कुराहरू समावेश हुन्छन्, जुन बीमा कम्पनी र पोलिसी अनुसार फरक पर्न सक्छन् ।

यात्रा रद्द भएमा खर्चको क्षतिपूर्तिः जस्तै, आकस्मिक बिरामी, परिवारमा मृत्यु वा अन्य कारणले यात्रा रद्द भएमा कभर गरिन्छ।

आपतकालीन चिकित्सा सेवा: विशेष गरी विदेश यात्रामा आकस्मिक बिरामी वा चोटपटकको अवस्थामा उपचार खर्च समेटिन्छ ।

आपतकालीन निकासी सेवा: गम्भीर अवस्थामा घर फिर्ता वा नजिकको अस्पतालसम्म पु¥याउने आपतकालीन यातायात खर्च समेटिन्छ ।

सामान हराउने वा ढिलाइ हुने अवस्था: एयरलाइनले लगेज हराएमा वा ढिला भएमा आवश्यक खर्च कभर गरिन्छ ।

यात्रा ढिलाइ खर्च : मौसम, प्राविधिक समस्या जस्ता कारणले ढिलाइ हुँदा होटल वा खाना खर्चजस्ता क्षतिपूर्तिहरू बीमा अन्तर्गत पर्न सक्छन्।

दुर्घटना वा मृत्यु: यात्रा क्रममा मृत्यु भएमा वा अंग भंग भएमा निश्चित रकमको क्षतिपूर्ति दिने व्यवस्था हुन्छ।

नेपालमा को–को गर्छन् यस्तो बीमा ?

हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनीहरूले यात्रा बीमा सेवा प्रदान गर्दै आएका छन् । तीमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड एक प्रमुख कम्पनीका रूपमा परिचित छ । लामो समयदेखि कम्पनीले नेपाली ग्राहकलाई भरपर्दो सेवा दिँदै आएको दाबी गरिएको छ ।

नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड हो, जुन १९४७ मा स्थापना भएको हो। यस्ता बीमा कम्पनीहरूले हाल विदेश गएका खेलाडी, व्यापारी, विद्यार्थी र पर्यटकहरूको बिचमा ट्राभल इन्स्योरेन्स लोकप्रिय बनाउँदै लगेका छन् ।

छोटो यात्रामा पनि गर्न सकिन्छ बीमा

यात्रा बीमा केवल लामो विदेश यात्राका लागि मात्र होइन, छोटो अवधिको भ्रमणमा पनि लागू गर्न सकिन्छ । केही देशहरू (जस्तै युरोपियन युनियन अन्तर्गतका देशहरू) मा त ट्राभल इन्स्योरेन्स अनिवार्य छ ।

सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्छ । त्यसैले, अब ट्राभल इन्स्योरेन्स विकल्प होइन, आवश्यकता बनेको छ ।


प्रतिक्रिया दिनुहोस्