‘नीति’ र ‘नेतृत्व’मा दुई पौडेल, के अब सेयर बजारले नयाँ मोड लिन्छ ? « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

‘नीति’ र ‘नेतृत्व’मा दुई पौडेल, के अब सेयर बजारले नयाँ मोड लिन्छ ?



काठमाडौं । करिब डेढ महिनादेखि रिक्त नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्व पौडेलको नियुक्तिसँगै यति बेला नेपालको पुँजी बजारमा नयाँ उर्जा र उत्साह देखिन थालेको छ ।

नीति निर्माणको गहिरो अनुभव, शैक्षिक पृष्ठभूमि र पुँजी बजारप्रतिको विशेष चासो भएका डा. पौडेल गभर्नर बनेसँगै लगानीकर्ताबीच आशा पलाएको छ । अब बजारमा विश्वास, स्थायित्व र दीर्घकालीन सोचको यात्रा सुरु हुने लगानीकर्ताहरुको बुझाई छ ।

सेयर बजार हाल स्थिर गतिमा रहेको छ । तर, लगानीकर्ताहरू भने दीर्घकालीन स्थायित्वको बाटो खोजिरहेका छन् ।
नवनियुक्त गभर्नर डा. विश्व पौडेल सेयर बजारका गहिरो बुझाइ राख्ने अर्थशास्त्री मानिन्छन् । गभर्नर डा. पौडेलसँग साना तथा मझौला लगानीकर्ताले पूँजी बजार सुधारका ठोस र सकारात्मक कदमको अपेक्षा गरेका छन् ।

गभर्नरमा पौडेलको नियुक्तिको चर्चासँगै बजार उच्च अंकले बढेको छ । मंगलबार बजा ४९.०९ अंक बढेर २ हजार ६७७ अंकको बिन्दु पार गरेको थियो । बजारसँगै कारोबार रकमा पनि बढोत्तरी नै आएको देखिन्छ । गभर्नर नियुक्तिको पूर्वसन्ध्यामा पनि बजारले सकरात्मक संकेत गरेको थियो । अर्थात् सोमबार पनि बजार लगातार ६ कारोबार दिनको गिरावटपछि १९.३० अंक वृद्धि भएको थियो । बजार परिसूचक २ हजार ६८२८ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो । यता, उक्त दिन कारोबार रकम पनि ७ अर्ब माथि नै थियो । उनको नियुक्तिको व्यापाक हल्लाले लगानीकर्ताहरुको आत्मबल बढेको अनुमान समेत गरिएको छ । अब बजार सकरात्मक रुपमा अघि बढने चर्चा सुरु भइसकेको छ ।

किनपनि भने नवनियुक्त गभर्नर डा. पौडेल इतिहास, नीतिगत स्थायित्व र दीर्घकालीन योजना निर्माणका पक्षधर मानिन्छन् । उनले विगतमा योजना आयोग, अन्तर्राष्ट्रिय श्रम संगठन, एमसीसी, निजी बैंक र शैक्षिक क्षेत्रमा रहेर नीति निर्माण र कार्यान्वयनमा गहन भूमिका निर्वाह गरिसकेका छन् । अब राष्ट्र बैंकको नेतृत्वमा उभिएका उनीसँग सेयर लगानीकर्ता, बैंकिङ क्षेत्र तथा नीति निर्माता सबैले सुधारको ठुलो अपेक्षा राखेका छन् ।

सेयर बजारको सन्दर्भमा यतिबेला व्यापाक रुपमा विभिन्न नीतिगत सुधार हुने अपेक्षा लगानीकर्ताको छ । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत तर्फ दिइने कर्जाको १५ करोडको सीमा खारेज गर्नुपर्ने, मार्जिन कर्जाको भारित औसत अनुपात १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने लगायतका माग विगत लामो समयदेखि माग गर्दै आएको छन् । पुँजीगत लाभकरलाई दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत र अल्पकालीनका लागि ५ प्रतिशत बनाइनुपर्ने मागहरू राख्दै आएका थिए । नव नियुक्त गभर्नरले उनीहरुको मागअनुसार नीतिगत लचकता अपनाउन कतिपयको बुझाई समेत छ ।

त्यसैगरी, अहिले लाग्ने ७.५ प्रतिशत अल्पकालीन र ५ प्रतिशत दीर्घकालीन पुँजीगत लाभकरलाई अन्तिम कर मानिने स्पष्ट व्यवस्था आर्थिक ऐनमार्फत गर्नुपर्ने जनचासो समेत छ । सेयर धितोमा आधारित कर्जा प्रवाहलाई पिई रेसियो, इपिएस, बुक भ्यालु जस्ता मापनसूचकमा आधारित बनाई पारदर्शी र स्थिर प्रणाली विकास गर्नुपर्ने आवश्यकता औल्याउँदै आएका छन् ।

मौद्रिक नीतिको अस्थिरता पनि लगानीकर्ताको चिन्ताको विषय बन्दै आइरहेको छ । राष्ट्र बैंकबाट सार्वजनिक हुने मौद्रिक नीति कम्तीमा दुई वर्षसम्म स्थिर रहने गरी तयारी गर्नुपर्ने र बजारको आत्मविश्वास बलियो बनाउने पहल गर्नुपर्ने लगायतका सवालहरु लगानीकर्ताले पहिले देखिनै उठाउँदै आएका छन् । उनीहरुको माग तथा सुझावमा नव नियुक्त गभर्नरले चासोका साथ लिने र अपेक्षित रुपमा सम्वोधन हुने विश्वासमा छन् ।

लगानीकर्ताहरुको अपेक्षाहरु पुरा हुने सम्भावना पनि उत्तिकै बलियो पनि देखिन्छ । किनपनि भने उनीहरुको यो विश्वास केवल गभर्नर डा. पौडेलको योग्यतामा मात्रै सीमित छैन । यो विश्वास अर्थ मन्त्रालयको नेतृत्वमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग पनि जोडिन्छ । अर्थमन्त्री पौडेल पनि सेयर बजारमैत्री नेताका रूपमा परिचित छन् । विगतमा उनी अर्थमन्त्री भएकै बेलादेखि नै सेयर बजारमा उल्लेखनीय सुधार र विस्तार भएको मानिन्छ । अहिले पनि बजारमा निरन्तरता, धैर्यता र सन्तुलन झल्काउने किसिमको गति कायमै छ ।

गभर्नर र अर्थमन्त्रीबीचको सम्भावित ‘ट्युनिङ’ नेपाली सेयर बजारको लागि सुखद संकेतको रुपमा चर्चा समेत बजारमा सुरु भइसकेको छ । एकजना पौडेल अर्थतन्त्रका रणनीतिक नेतृत्वकर्ता, अर्का नीतिगत सन्तुलनकर्ता । यी दुईबीचको सहकार्यले अब राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको समन्वयलाई सुदृढ बनाउने विश्वास पलाएको छ ।

हाल सरकारमा नेकपा एमाले र नेपाली कांग्रेस सत्ता साझेदार छन् । कांग्रेस निकट गभर्नर डा. विश्व पौडेल र एमालेका अर्थमन्त्री विष्णु पौडेल दल फरक भए पनि सरकार एउटै भएकाले नीति निर्माणमा समन्वय र स्थायित्वको आशा गरिएको छ । यस्तो सन्तुलित संरचनाले बजारमैत्री नीति अघि ल्याउने सम्भावना बलियो रहेका एक पुराना अनुभवी लगानीकर्ता बताउँछन् । उनी भन्छन्,‘अब नीति हचुवामा हैन, विश्लेषणमा आधारित हुनेछ । वित्तीय सूचकांकलाई आधार बनाएर ऋण प्रवाह, कर प्रणालीमा स्पष्टता र पुँजी बजारमैत्री दृष्टिकोण अब अर्थमन्त्रालय र राष्ट्र बैंकको प्राथमिकतामा पर्नेछ भन्ने विश्वास बलियो बनेको छ ।’

गभर्नर पौडेलबाट लगानीकर्ताले गहिरो सोच र स्थायीत्वपूर्ण नीतिको अपेक्षा गरेका छन् भने अर्थमन्त्री पौडेलमाथि बजारले पहिलेदेखि नै विश्वास राख्दै आएको छ । उनीहरुको सहकार्यले आगामी मौद्रिक नीति, कर संरचना, कर्जा नीतिमा स्पष्टता र लगानीमैत्री वातावरण सिर्जना गर्न सक्ने थुप्रै सम्भावनाहरु रहेको ती लगानीकर्ताले भने ।

‘सेयर बजार केवल अंकको खेल होइन, यो विश्वासको बजार पनि हो’ ती लगानीकर्ता भन्छन्,‘ हामीलाई स्थायीत्व चाहिएको हो, स्थायीत्वका लागि नीति र नियमत दुवै स्पष्ट हुनुपर्छ । र, अहिले गभर्नर र अर्थमन्त्री दुवैमा त्यो नियत देखिएको छ ।’

दुई पौडेलको सहकार्यले नेपाली सेयर बजारलाई केवल सुधारको दिशातर्फ होइन, दीर्घकालीन स्थायित्वको यात्रातर्फ उन्मुख गराउने गहिरो अपेक्षा छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच वास्तविक तालमेल कायम रह्यो, नीति निर्माणमा स्थायित्व र लगानीमैत्री सोच स्थापित भयो भने अब सेयर बजार दैनिक अंकको उतारचढावमा सीमित रहने छैन । यो मुलुकको समग्र अर्थतन्त्रको स्थायित्व र विश्वासको सूचकका रूपमा उभिनेछ ।


प्रतिक्रिया दिनुहोस्