‘ग्लोबल आईएमई समुन्नत योजना २’ असार २२ गतेदेखि निष्कासन हुने « Arthapath.com
१९ असार २०८२, बिहीबार

‘ग्लोबल आईएमई समुन्नत योजना २’ असार २२ गतेदेखि निष्कासन हुने



काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गत ‘ग्लोबल आईएमई समुन्नत योजना २’ सार्वजनिक निष्कासनमा ल्याउने भएको छ।

असार २२ गतेदेखि सर्वसाधारणका लागि उपलब्ध हुने यो योजना प्रारम्भमा १ अर्ब २० करोड रुपैयाँको कोष आकारबाट सुरु हुनेछ। अत्यधिक माग भएमा भने २५ प्रतिशतसम्म वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो बन्दमुखी योजना ‘ग्लोबल आईएमई म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालन हुनेछ, जसको इकाइ मूल्य १० रुपैयाँ तोकिएको छ। कुल १२ करोड इकाइ सर्वसाधारणमा निष्कासन गरिनेछ, जसमा न्यूनतम १०० इकाइदेखि अधिकतम योजनाको १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाइसम्म लगानी गर्न सकिनेछ। योजना इकाइ बाँडफाँट भएको मितिबाट १० वर्षका लागि लागु हुनेछ।

योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ, र यसको प्रारम्भिक १५ प्रतिशत लगानी कोष प्रायोजक तथा व्यवस्थापकले गर्नेछन्। व्यवस्थापन शुल्क वार्षिक नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत र डिपोजिटरी शुल्क ०.२० प्रतिशत तोकिएको छ।

ग्लोबल आईएमई समुन्नत योजना २ ले इक्विटी तथा निश्चित आम्दानी साधनहरूमा सन्तुलित ढंगले लगानी गर्दै दीर्घकालीन लाभ दिने लक्ष्य लिएको छ। इक्विटी वा इक्विटी सम्बन्धी साधनहरूमा ७० देखि ९० प्रतिशतसम्म लगानी गरिनेछ, जुन उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ।

यसबाहेक, ऋणपत्र वा निश्चित आम्दानी साधनहरूमा ०–१० प्रतिशत, फिक्स्ड डिपोजिट र नगदरआईपीओरअन्य म्युचुअल फन्डमा पनि ०–१० प्रतिशतसम्म लगानी गर्ने योजना छ।

कम्पनीका अनुसार यो योजनाको प्रमुख विशेषता भनेको व्यावसायिक व्यवस्थापन, लगानी विविधीकरण, सहज पहुँच, सस्तो लगानी, पारदर्शिता, कर छुट र लगानीकर्ता संरक्षण हो। क्यापिटलले यस योजनाबाट वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जसअनुसार १० वर्षमा इकाइधनीले कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्ने अनुमान गरिएको छ।

यस योजनाको आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत हुने अपेक्षा गरिएको छ। साथै, प्रारम्भिक ९ वर्षसम्म हरेक वर्ष ८ देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने सम्भावना पनि देखाइएको छ।

कम्पनीले म्युचुअल फन्ड नियमावली २०६७ अनुसार पूर्ण पारदर्शिता र नियामकीय संरचनाको पालना गर्दै योजना सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ। दीर्घकालीन लगानी सोच भएका लगानीकर्ताहरूका लागि यो योजना लाभदायक हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्