२६ श्रावण २०८३, मंगलबार

नाईमा मोबिलिटी एक्स्पोमा ५५ बढी ब्रान्ड र ४० बढी नयाँ लन्चको धमाका (भिडियोसहित)



काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ। आयोजकका अनुसार यसपटकको एक्स्पो अघिल्लो संस्करणभन्दा ठूलो हुने र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।

दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलसँगै आईसी इन्जिनयुक्त पेट्रोल तथा डिजेल सवारी, विद्युतीय सवारी र हाइब्रिड प्रविधिका उत्पादनहरू प्रदर्शनीमा रहनेछन्। एक्स्पो अवधिभर ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक हुने तयारीसमेत गरिएको छ।

यसैबीच एक्स्पोको तयारी, यसपटकका विशेष आकर्षण, नयाँ प्रविधि तथा सवारीसाधनका मोडल, विद्युतीय सवारीको बढ्दो प्रयोग, सरकारी नीति र नेपालको मोबिलिटी क्षेत्रको अवस्था लगायतका विभिन्न विषयहरुमा केन्द्रीत रहेर अर्थपथले शारदा ग्रुपका निर्देशक तथा नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का संयोजक गौरव शारदासँग कुराकानी गरेको छ।

प्रस्तुत छ, शारदा ग्रुपका निर्देशक तथा नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का संयोजक गौरव शारदासँग गरिएको कुराकानीको सम्पादित अंश :

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को तयारी कस्तो भइरहेको छ ?

भृकुटीमण्डपमा स्टल निर्माण गर्ने तथा ह्याङ्गर राख्ने काम सम्पन्न भइसकेको छ। अहिले प्रदर्शकहरूले आफ्ना स्टल निर्माणको काम अघि बढाइरहनुभएको छ।

यसपटकको एक्स्पोका मुख्य आकर्षण के–के छन्? उपभोक्ताले कस्ता मोडल र प्रविधि अवलोकन गर्न पाउनेछन्?

यसपटक ५५ भन्दा बढी ब्रान्डले सहभागिता जनाइरहेका छन्। त्यसमा दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलहरू रहेका छन्। नाईमा मोबिलिटी एक्स्पोको छ दिनको अवधिमा ४० भन्दा बढी नयाँ लन्च तथा सार्वजनिकरण हुनेछन्। प्रविधिको कुरा गर्दा आईसी इन्जिन भएका पेट्रोल तथा डिजेल गाडी, विद्युतीय सवारी (ईभी) र हाइब्रिड सोलुसनहरू अवलोकन गर्न सकिनेछ।

अघिल्लो संस्करणभन्दा यसपटकको एक्स्पोमा के फरक छ?

नाईमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो संस्करणभन्दा यसपटकको एक्स्पो ठूलो भएर आएको छ। गत वर्षभन्दा बढी ब्रान्डले सहभागिता जनाइरहेका छन्। हामी यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शोका रूपमा प्रस्तुत गरिरहेका छौँ।

ग्राहकहरूले ५५ भन्दा बढी ब्रान्ड अवलोकन गर्न सक्ने गरी यस वर्ष हामीले गत वर्षका प्रदर्शक र आगन्तुकहरूको प्रतिक्रियालाई मनन गरेका छौँ। उहाँहरूले दिएका सुझाव र समस्यालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ।

त्यसैअनुसार पार्किङको सुविधा थप गरेका छौँ। नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमुनि थप पार्किङको व्यवस्था गरिएको छ। अहिले मनसुनको समय भएकाले एउटा हलबाट अर्को हलमा जाँदा वर्षाबाट जोगिन सकिने गरी आवश्यक व्यवस्था पनि मिलाएका छौँ।

नेपालको अटो बजार विद्युतीय सवारीतर्फ केन्द्रित भइरहेको देखिन्छ। एक्स्पोले यसलाई कसरी सम्बोधन गर्छ? विद्युतीय सवारीको भविष्य कस्तो देख्नुहुन्छ?

विद्युतीय सवारीको एडप्सनमा नेपाल विश्वमै दोस्रो स्थानमा छ। नर्वेपछि नेपाल नै आउँछ। यो हाम्रा लागि सकारात्मक कुरा हो।

नेपालमा जीवाश्म इन्धनको आफ्नै स्रोत छैन। पेट्रोल र डिजेल सबै आयात गर्नुपर्छ। त्यसमा हाम्रो विदेशी मुद्रा सञ्चिति पनि प्रयोग भइरहेको छ। अहिलेको भूराजनीतिक अवस्थालाई हेर्दा पनि विद्युतीय सवारीमा जान सक्यौँ भने हामी आत्मनिर्भरतातर्फ जान सक्छौँ।

नेपालमै उत्पादन हुने स्वच्छ ऊर्जाबाट विद्युतीय सवारी चलाउन सकिन्छ। दीर्घकालमा यसले वायु प्रदूषण घटाउन पनि सहयोग गर्छ। विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौंको नाम आउने गरेको अवस्थामा विद्युतीय सवारीको विस्तारले प्रदूषण न्यूनीकरणमा केही न केही योगदान गर्ने निश्चित छ।

उपभोक्ताहरूले बिक्रीपछिको सेवा र चार्जिङ स्टेसनको अभावको समस्या रहेको बताउने गरेका छन्। यसलाई कसरी हेर्नुभएको छ?

चार्जिङ सोलुसनको क्षेत्रमा पछिल्ला दुई वर्षमा निकै प्रगति भएको छ। धेरै निजी चार्जिङ स्टेसन थपिएका छन्। काठमाडौं बाहिर राजमार्गमा जाँदा अहिले हरेक २५–३० किलोमिटरमा निजी चार्जिङ स्टेसनहरू उपलब्ध छन्।

कतिपय होटल तथा रेस्टुरेन्टहरूले पनि राजमार्गमा ग्राहक आकर्षित गर्न चार्जिङ स्टेसन राखेका छन्। त्यसैले अहिलेको अवस्थामा विगतको तुलनामा चार्जिङ स्टेसनको उपलब्धता केही सहज भएको छ।

स्पेयर पार्ट्स तथा बिक्रीपछिको सेवाको कुरा गर्दा कुनै पनि ब्रान्डले आफ्ना ग्राहकलाई बिक्रीपछिको सेवा दिएर खुसी पार्न सकेन भने दीर्घकालसम्म टिक्न सक्दैन। कसैले चाहेर सेवा नदिएको भन्ने मलाई लाग्दैन। केही न केही बाध्यता भएर बिक्रीपछिको सेवामा कमी–कमजोरी भएको हुन सक्छ।

तर नेपालमा दीर्घकालसम्म व्यवसाय गर्न चाहने कुनै पनि कम्पनीले बिक्रीपछिको सेवामा ध्यान दिनैपर्छ।

आगामी वर्षहरूमा नेपालमा ईभी एडप्सनको गति कस्तो हुने देख्नुहुन्छ?

विश्वभर नै विद्युतीय सवारीको एडप्सन बढ्दो क्रममा छ। मलाई लाग्छ, हामी विश्वको ट्रेन्डभन्दा पनि तीव्र गतिमा अघि बढिरहेका छौँ। नेपाल छिटो एडप्सन गर्ने देशहरूमध्ये पर्छ।

यो सकारात्मक संकेत हो। नेपाली उपभोक्ताले नयाँ प्रविधिलाई छिटो अपनाउनुभएको छ। त्यसबाट हामीले केही न केही फाइदा पनि पाइरहेका छौँ।

उदाहरणका लागि हाम्रो आफ्नै विद्युत् खपत बढिरहेको छ भने आयातित इन्धनको आवश्यकता घट्दै गइरहेको छ। त्यसकारण विद्युतीय सवारीले निश्चित रूपमा राम्रो सहयोग गरेको छ। आगामी दिनमा पनि नेपालले ईभी एडप्सनमा अग्रता कायम राख्नेछ।

विश्वको अटोमोबाइल क्षेत्रमा भइरहेका नयाँ प्रविधि र नयाँ मोडल नेपाल भित्र्याउने विषयमा नेपाल कत्तिको सक्षम छ? नेपाली ग्राहकले लेटेस्ट प्रविधि पाउन सकिरहेका छन् कि छैनन् ?

विद्युतीय सवारीकै कुरा गर्ने हो भने नेपालमा विश्व बजारमा उपलब्ध ईभी प्रविधि उपलब्ध छ। विश्व बजारलाई हेर्दा राइट ह्यान्ड ड्राइभ बजारमा नेपाल सामान्यतः कुनै पनि नयाँ मोडल र ब्रान्ड प्रवेश गर्ने पहिलो वा दोस्रो बजारमध्ये पर्छ।

यो उत्साहको कुरा हो। विश्वका अटोमोबाइल निर्माताहरूले पनि नेपाललाई प्राथमिकतामा राखेका छन्। त्यसकारण नेपाली ग्राहकले राइट ह्यान्ड ड्राइभ मोडलमा नयाँ प्रविधिको पहिलो अनुभव लिन पाउनुहुन्छ।

राज्यका नीतिहरूले अटोमोबाइल क्षेत्रलाई पनि प्रभावित गर्छन्। कर नीतिलगायतका विषयमा सरकारले कस्तो नीतिगत वातावरण बनाएको देख्नुहुन्छ?

करको विषयमा हेर्दा अटोमोबाइल उद्योग सबैभन्दा बढी कर लाग्ने उद्योगमध्ये पर्छ। त्यसका बाबजुद नेपालमा विद्युतीय सवारीको विस्तार हुनुमा सरकारले ईभीमा सहुलियत दरमा कर लगाएको विषयले पनि महत्वपूर्ण भूमिका खेलेको छ।

त्यसैले यसमा दुईवटा पक्ष छन्। हामी उच्च कर लाग्ने क्षेत्रमध्ये पर्छौँ। तर ईभीको हकमा नेपाल सरकारले केही न केही सहुलियत दिँदै आएको हुनाले यसको एडप्सन बढेको हो।

नाईमा नेपाल मोबिलिटी एक्स्पोको राष्ट्रिय अर्थतन्त्रमा कस्तो योगदान रहन्छ?

नाईमा मोबिलिटी एक्स्पो नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक हो। यसले सरकार र व्यापार गर्ने निजी क्षेत्र दुवैका लागि ठूलो राजस्व तथा आर्थिक गतिविधि सिर्जना गर्नेछ। यसले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग पुर्‍याउनेछ।

अन्त्यमा, दर्शक तथा ग्राहकहरूलाई र सरकारलाई केही सन्देश दिन चाहनुहुन्छ?

सरकारसँग मेरो अनुरोध के छ भने पूर्वाधारका विषयमा, विशेषगरी राजमार्ग र सडकमा लगानी बढाउनुपर्छ। आम नेपालीका लागि सहज हुने गरी पूर्वाधार विकासमा लगानी बढाउँदा यसले अर्थतन्त्रलाई पनि सहयोग गर्छ। अहिले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको अवस्थामा पूर्वाधारमा हुने लगानीले त्यसमा ठूलो सहयोग पुर्‍याउँछ।

त्यसैगरी, गभर्नरसँग पनि मेरो अनुरोध छ। सवारीसाधनमा रहेको लोन–टु–भ्यालु रेसियोलाई पुनर्विचार गरेर समग्र अटोमोबाइल क्षेत्रका लागि ८०ः२० को अनुपातमा ल्याइदिने हो भने यसले मोबिलिटी क्षेत्रलाई मात्र नभई सरकारको राजस्वदेखि बैंकिङ प्रणालीमा रहेको तरलतालगायतका विषयलाई पनि सम्बोधन गर्न सहयोग गर्छ।

अन्त्यमा, अर्थपथमार्फत हामीलाई पढिरहनुभएका सबै दर्शकलाई यही अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा आयोजना हुने नाईमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करणमा आउन अनुरोध गर्छु।

साथी, भाइ तथा परिवारसँग आउनुहोस्। यहाँ केही न केही नयाँ र राम्रो प्रविधि, उत्पादन तथा सेवा अवलोकन गर्न पाउनुहुनेछ।

(शारदा ग्रुपका निर्देशक तथा नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का संयोजक गौरव शारदासँगको कुराकानीमा आधारित)