के एआईले रेनमिन्पी (युआन) को उकालो यात्रालाई रोक्ला?
सन् २०२५ को उत्तरार्धदेखि डलरको तुलनामा रेनमिन्बीले उल्लेखनीय पुनरागमन गरेको छ। यसले यो मुद्रा अब कतिसम्म बलियो हुन सक्छ भन्ने विषयमा नयाँ बहस जन्माएको छ।
केही विश्लेषकहरू मुद्राको यो वृद्धिलाई विद्युतीय गाडी, नवीकरणीय ऊर्जाका उपकरण र जहाज निर्माणजस्ता चीनका व्यापारिक क्षेत्रहरूको उत्पादकत्व वृद्धिसँग जोडेर हेर्छन्। उत्पादन क्षेत्रको उत्पादकत्वमा हुने वृद्धिले विनिमय दरलाई कसरी प्रभावित गर्छ भन्ने कुरा स्पष्ट गर्न उनीहरू ‘बालासा-सामुएलसन प्रभाव’ को सहारा लिन्छन्।
यसको तर्क एकदमै सहज छ। बढी उत्पादन क्षमता भएका उद्योगहरूले विश्व बजारमा सफलतापूर्वक प्रतिस्पर्धा गर्न सक्छन् र कामदारलाई बढी ज्याला दिन सक्छन्। कामदारहरू विभिन्न क्षेत्रबीच आवतजावत गर्न सक्ने हुनाले स्थानीय रेस्टुरेन्ट, विद्यालय र अस्पतालहरूमा काम गर्नेहरूको ज्याला पनि बढ्छ।
यदि यी सेवा क्षेत्रहरूको उत्पादकत्व त्यसअनुसार बढेको छैन भने, सेवा प्रदायकहरूले बढेको ज्याला धान्नका लागि सेवा शुल्क महँगो बनाउन बाध्य हुन्छन्। यसरी विनिमय दरलाई ध्यानमा राख्दा यदी कपाल काट्ने नाईको सीपमा कुनै सुधार नभए पनि चीनमा कपाल कटाउनु अन्यत्रको तुलनामा महँगो पर्न जान्छ।
यो वास्तविक विनिमय दरमा आएको वृद्धिको रूप हो, जुन बलियो रेनमिन्बी, उच्च घरेलु मूल्य वा यी दुवैको संयुक्त प्रभावबाट देखिन सक्छ।
हामीले यो परिदृश्य पहिला पनि देखेका छौँ। युद्धोत्तरकालमा जर्मनी र जापानको उत्पादकत्व अमेरिकी स्तरको नजिक पुग्दा उनीहरूको मुद्राको मूल्य निरन्तर बढेको थियो। सन् २००५ देखि २०१३ को बीचमा चीनले पनि यस्तै आर्थिक गतिशीलता अनुभव गरेको थियो, जतिबेला डलरको तुलनामा रेनमिन्बी करिब ३५ प्रतिशतले बलियो भएको थियो।
तर यसको मतलब एआईबाट प्रेरित उत्पादकत्व वृद्धिको नयाँ लहरले रेनमिन्बीलाई अझ तीव्र गतिमा उकालो लगाउँछ नै भन्न सकिंदैन। सम्भवतः एआईले त त्यही क्षेत्रमा उत्पादकत्व बढाउनेछ जहाँ परम्परागत बालासा-सामुएलसन प्रणालीले पछि पर्ने अनुमान गरेको थियो, अर्थात्, गैर-व्यापारिक सेवा क्षेत्र।
विगतका प्राविधिक क्रान्तिहरूले मेसिनबाट गर्न सकिने, मानकीकृत गर्न सकिने वा ठूलो परिमाणमा विस्तार गर्न सकिने गतिविधिहरूलाई बढी प्राथमिकता दिएका थिए।
सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्रान्तिले अर्थतन्त्र, दूरसञ्चार र इ-कमर्सको रूपान्तरण गर्यो, जसले धेरै सेवाहरूलाई अन्तर्राष्ट्रिय व्यापारयोग्य बनायो। तर स्वास्थ्य सेवा, शिक्षा र अन्य स्थानीय सेवाहरू ठूलो हदसम्म मानव श्रम र निर्णय क्षमतामै निर्भर रहे।
उदाहरणका लागि, चिनियाँ सार्वजनिक अस्पतालहरूमा सन् २०१४ मा प्रति चिकित्सक प्रतिदिन ७.५ जना बिरामीको परामर्श लिइन्थ्यो भने सन् २०२४ मा त्यो घटेर ७.२ मा झरेको छ।
जेनेरेटिभ एआईले ठ्याक्कै यस्तै किसिमका गतिविधिहरूमा मद्दत पुर्याउन सक्छ; यसले डाक्टर, शिक्षक र अन्य पेसाकर्मीहरूलाई सूचना प्रशोधन गर्न र तथ्यांक विश्लेषण गर्न सहयोग गर्छ। यदि स्थानीय सेवा क्षेत्रमा उत्पादकत्व बढ्यो भने, ती सेवाहरूको प्रतिइकाई लागत बढ्नुको साटो घट्न सक्छ।
स्थानीय सेवाहरू उत्पादन क्षेत्रभन्दा अर्को एक महत्त्वपूर्ण पक्षमा पनि भिन्न हुन्छन्। बढी दक्ष कारखानाले विदेशमा धेरै गाडीहरू बिक्री गर्न सक्छ। तर एउटा बढी दक्ष अस्पतालले विदेशमा धेरै बिरामीको परामर्श सहजै निर्यात गर्न सक्दैन।
उत्पादकत्वबाट प्राप्त हुने लाभ धेरैजसो घरेलु बजारमै सीमित रहन्छ, जसले गर्दा मूल्यमा कमी आएको प्रस्ट देखिन्छ। खाना डेलिभरीले यसको एउटा सरल उदाहरण दिन्छ: राम्रो एल्गोरिदमका कारण डेलिभरी गर्ने राइडरहरूले प्रतिघण्टा धेरै अर्डर पूरा गर्न सक्छन्, तर बेइजिङको एउटा कुशल डेलिभरी नेटवर्कले न्युयोर्कमा गएर बेलुकाको खाना पुर्याउन सक्दैन।
यसलाई ‘बालासा-सामुएलसन विपरित प्रभाव’का रूपमा बुझ्न सकिन्छ। उत्पादन क्षेत्रको उत्पादकत्व वृद्धिले सेवाहरूको सापेक्षिक मूल्य बढाउनुको सट्टा, गैर-व्यापारिक सेवा क्षेत्रको उत्पादकत्व वृद्धिले सापेक्षिक मूल्य घटाउँछ, जसले वास्तविक अवमूल्यनको दबाब सिर्जना गर्छ वा वास्तविक रूपमा मुद्रा बलियो हुने दबाबलाई केही हदसम्म कम गर्छ।
यो प्रभाव चीनमा विशेष गरी बलियो हुन सक्छ। चीनका अधिकांश एआई-प्रभावित क्षेत्रहरू (जस्तै शिक्षा, स्वास्थ्य सेवा, आवास, खाद्य सेवा र खुद्रा व्यापार) स्थानीय स्तरमै केन्द्रित छन्।
यसको विपरीत, संयुक्त राज्य अमेरिकामा एआईबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा सूचना प्रविधि, वित्त र व्यावसायिक सेवाहरू पर्छन्, जुन आईसीटी क्रान्तिको समयमा बढी व्यापारयोग्य बनेका थिए। एआईको क्षमतामा भएको विकासले यी संरचनागत भिन्नताहरूमा कुनै प्रभाव पार्दैन।
चीनको बजार संरचनाले यो प्रभावलाई अझ बढाउन सक्छ। त्यहाँ स्वास्थ्य सेवा र शिक्षा क्षेत्र पर्याप्त मूल्य नियमन (प्राइस गाइडन्स) अन्तर्गत सञ्चालन हुन्छन् भने रेस्टुरेन्ट, खुद्रा व्यापार र डेलिभरी सेवाहरू तीव्र प्रतिस्पर्धाको घेरामा छन्।
यसले उत्पादकत्व वृद्धिबाट प्राप्त लाभलाई उच्च नाफ मार्जिनको सट्टा उपभोक्ताका लागि सस्तो मूल्यको रूपमा रूपान्तरण गर्ने सम्भावनालाई बढाउँछ। यसले ‘बालासा-सामुएलसन विपरित प्रभाव’ लाई अझ बलियो बनाउँछ र वास्तविक विनिमय दरमा थप गिरावट ल्याउने दबाब सिर्जना गर्छ।
यसका समष्टिगत आर्थिक (म्याक्रोइकोनोमिक) प्रभावहरू विनिमय दरमा मात्र सीमित छैनन्। चीनले पहिल्यैदेखि न्यून मुद्रास्फीति र कमजोर घरेलु मागको सामना गरिरहेको छ। यदि सेवाहरूको कम मूल्यले थप अतिरिक्त माग सिर्जना गर्न सक्यो भने, उत्पादकत्व वृद्धिलाई बढी परिमाणमा उत्पादन, रोजगारी र नाममात्रको (नोमिनल) आम्दानीमा रूपान्तरण गर्न सकिन्छ।
तर यदि मागको लोच कम छ भने, उत्पादन परिमाण बढ्नुभन्दा छिटो मूल्य घट्न सक्छ, जसले वास्तविक उत्पादकत्व सुध्रिँदासुध्रिँदै पनि मुद्रास्फीति घटाउने दबाब (डिसइफ्लेसनरी प्रेसर) लाई थप बढाउँछ र नाममात्रको आम्दानीलाई कमजोर बनाउँछ।
यदि एआईले श्रमको स्थान लिँदा (लेबर सब्स्टिट्युसन) रोजगारी र घरायसी आम्दानीमा असर पर्यो भने, यसले कम मूल्यप्रति मागलाई अझ कम संवेदनशील बनाएर यो चक्रलाई झनै बलियो बनाउन सक्छ। यसले गर्दा घट्दो मूल्य, न्यून आम्दानी र कमजोर मागको दुष्चक्र सिर्जना हुन सक्छ।
यस्तो परिदृश्यमा, सकारात्मक उत्पादकत्वको झट्काले मुद्रास्फीतिलाई थप लामो समयसम्म कायम राख्न सक्छ।
नीति निर्माताहरूले यी असरहरूलाई कसरी न्यूनीकरण गर्न सक्छन्? उत्पादकत्वमा हुने वृद्धि एक सकारात्मक विकास हो, त्यसैले यसको समाधान एआईको प्रयोगलाई सुस्त बनाउनु पक्कै पनि होइन। यसको सट्टा मुख्य प्राथमिकता उत्पादकत्वबाट प्राप्त लाभ समाजका सबै वर्गमा न्यायोचित रूपमा बाँडिने कुरा सुनिश्चित गर्नु हुनुपर्छ।
छोटो अवधिमा, विनिमय दरको लचकताले सापेक्षिक मूल्य समायोजनलाई केही हदसम्म व्यवस्थापन गर्न मद्दत गर्न सक्छ। समयसँगै, सेवा बजारलाई खुला गर्दा कम लागतले माग र आर्थिक गतिविधिहरूलाई बढावा दिन सक्छ, जबकि थप सेवाहरूलाई व्यापारयोग्य बनाएर उत्पादकत्व वृद्धिलाई निर्यात र आम्दानीमा रूपान्तरण गर्न सकिन्छ।
जनताको क्रयशक्ति बढाउने र मूल्यको प्रतिस्पर्धाबाट गुणस्तर तथा मूल्य सिर्जना (भ्यालु क्रिएसन) तर्फ ध्यान केन्द्रित गर्नाले एआईबाट प्राप्त उत्पादकत्व वृद्धिलाई केवल मूल्य घटाउने माध्यम मात्र होइन, उत्कृष्ट सेवा र उच्च आम्दानीको स्रोत बनाउन सकिन्छ।
एआईले आगामी दिनमा उत्पादकत्व क्रान्तिको अर्को लहर ल्याउन सक्छ, तर यसले विनिमय दरमा विगतको जस्तै असर पार्नैपर्छ भन्ने छैन।
(चीनको 'स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज' का पूर्व प्रमुख अर्थशास्त्री मियाओ यानल्याङ 'चाइना इन्टरनेसनल क्यापिटल कर्पोरेसन' मा वरिष्ठ प्रबन्ध निर्देशक र प्रमुख रणनीतिकार हुनुहुन्छ। याे लेख हामीले प्राेजेक्ट सिण्डिकेटबाट अनाैपचारिक अनुवाद गरेका हाैँ ।)















