भारतको हरित ऊर्जा यात्रालाई गति दिन अमेजनले ल्यायो ७ अर्ब डलरको महत्त्वाकाङ्क्षी योजना
भारतको हरित ऊर्जा भविष्य र कार्बन उत्सर्जन घटाउने लक्ष्यलाई सघाउन अमेजनले सन् २०३० सम्म ७ अर्ब डलर लगानी गर्ने भएको छ।
काठमाडाैँ । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतको नवीकरणीय ऊर्जा परियोजनाहरूमा सन् २०३० सम्म ७ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
यसले कम्पनीको नवीकरणीय ऊर्जा पोर्टफोलियोलाई व्यापक रूपमा विस्तार गर्नुका साथै भारतलाई एक अधिक दिगो र लचिलो ऊर्जा भविष्यतर्फ अगाडि बढाउन ठूलो सहयोग पुर्याउनेछ। यो लगानी यसअघि नै भारतमा नवीकरणीय ऊर्जा क्षेत्रमा सम्झौता भइसकेको ४ अर्ब डलरभन्दा बाहेकको हो।
यससँगै अमेजन भारतमा कार्बन-मुक्त ऊर्जा खरिद गर्ने अग्रणी कर्पोरेट संस्थाको रूपमा उभिएको छ।
यसैक्रममा अमेजनले ९३४ मेगावाट कुल क्षमता भएका चारवटा नयाँ युटिलिटी-स्केल वायु र सौर्य ऊर्जा परियोजनाहरूको पनि घोषणा गरेको छ। यसमा कर्नाटकमा २३४ मेगावाट क्षमताको वायु ऊर्जा फारम समावेश छ, जुन हालसम्म एसियामा अमेजनद्वारा अनुबन्धित गरिएको सबैभन्दा ठूलो वायु ऊर्जा परियोजना हो।
यसबाहेक कर्नाटकमै २०० मेगावाटको संयुक्त सौर्य तथा वायु ऊर्जा परियोजना, मध्य प्रदेशमा ३०० मेगावाटको सौर्य परियोजना र राजस्थानमा २०० मेगावाटको सौर्य परियोजना रहेका छन्। पावर पर्चेज एग्रिमेन्टमार्फत सुरक्षित गरिएका यी परियोजनाहरू भारतमा अमेजनका हालैका ४ अर्ब डलरका अनुबन्धित परियोजनाहरूको हिस्सा हुन्।
सञ्चालनमा आएपछि यी सबैको कुल क्षमता २ गिगावाटभन्दा बढी हुनेछ, जसले ३५ लाखभन्दा बढी भारतीय घरपरिवारको वार्षिक आवश्यकता बराबरको बिजुली उत्पादन गर्न सक्नेछ।
भारतमा अमेजनका यी नवीकरणीय ऊर्जा लगानीहरू कम्पनीको नयाँ विश्वव्यापी लक्ष्यमा पनि योगदान गर्न लक्षित छन्। सोही दिन घोषणा गरिएको यो नयाँ लक्ष्यअनुसार सन् २०३० सम्ममा अमेजनले आफ्नो सञ्चालनमा प्रयोग हुने बिजुलीको कार्बन तीव्रता ६५ प्रतिशतले घटाउनेछ।
यस नयाँ लक्ष्यको अर्थ कम्पनीले खपत गर्ने प्रत्येक युटिट बिजुलीमा सन् २०१९ को आधार वर्षको तुलनामा ६५ प्रतिशत कम कार्बन उत्सर्जन हुनेछ। विश्वव्यापी ऊर्जा माग बढ्दो रहेको यस समयमा यो लक्ष्य सन् २०४० सम्ममा नेट-जिरो कार्बन बन्ने अमेजनको ‘क्लाइमेट प्लेज’ को यात्रामा एक महत्त्वपूर्ण माइलस्टोन साबित भएको छ।
भारतका नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद जोशीले अमेजनको यो कदमको स्वागत गरेका छन्। उनले भनेका छन् कि भारतमा नवीकरणीय ऊर्जा क्षेत्रमा अमेजनको निरन्तर लगानीले देशको स्वच्छ ऊर्जाको महत्त्वाकाङ्क्षालाई अगाडि बढाउन, ऊर्जा सुरक्षालाई बलियो बनाउन र दिगो आर्थिक वृद्धिलाई टेवा दिन महत्त्वपूर्ण भूमिका खेल्छ।
यस्ता लगानीले भारतको नवीकरणीय ऊर्जा क्षेत्रप्रति विश्वव्यापी कम्पनीहरूको बढ्दो विश्वास र यसको दीर्घकालीन लगानी आकर्षित गर्ने क्षमतालाई समेत झल्काउने उनको भनाइ छ। साथै, उनले भारतका नवीकरणीय ऊर्जा लक्ष्यहरूलाई अगाडि बढाउन उद्योगहरूसँगको निरन्तर सहकार्यको अपेक्षा पनि व्यक्त गरेका छन्।
अमेजनकी चिफ सस्टेनाबिलिटी अफिसर कारा हर्स्टले भारतमा गरिएको यो लगानी वर्षौंसम्मको निरन्तर प्रयास, योजना र सहकार्यको परिणाम भएको बताएकी छिन्। उनले ७ अर्ब डलरको यो थप लगानीले कम्पनीको दीर्घकालीन प्रतिबद्धता झल्काउने र थप वायु तथा सौर्य ऊर्जा क्षमतालाई सञ्चालनमा ल्याउन सहयोग पुर्याउने बताइन्।
यसबाट भारतको ऊर्जा सुरक्षा र दीर्घकालीन नवीकरणीय ऊर्जाको महत्त्वाकाङ्क्षालाई बल पुग्ने उनकाे भनाइ छ। ठूलो परिमाणमा नवीकरणीय ऊर्जाको पहुँच विस्तार गरेर भारतको बढ्दो बिजुलीको माग पूरा गर्न, ऊर्जा सुरक्षा मजबुत पार्न र सन् २०७० सम्ममा नेट-जिरो उत्सर्जनको महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्न मद्दत गर्ने अमेजनको उद्देश्य रहेको छ।
भारतमा अमेजनको नवीकरणीय ऊर्जा पोर्टफोलियोमा ग्रिडमा कार्बन-मुक्त ऊर्जा थप्ने १४ वटा युटिलिटी-स्केल वायु र सौर्य परियोजनाहरू समावेश छन्। यसका साथै, भारतमा रहेका उसका विभिन्न सुविधाहरूमा ४३ वटा अन-साइट सौर्य जडानहरू रहेका छन्, जसले कम्पनीको सञ्चालनलाई ऊर्जा प्रदान गर्न मद्दत गरिरहेका छन्।
यी ५७ वटै परियोजनाहरूले अमेजनको सञ्चालनमा कार्बन-मुक्त ऊर्जाको विस्तार गर्ने र ठूलो मात्रामा नवीकरणीय ऊर्जा क्षमताको विकासमा सहयोग गर्ने निरन्तरको प्रतिबद्धतालाई प्रष्ट्याएका छन्।















