‘ज्यानकै सुरक्षा खतरा हुन थाल्यो’: ढुंगाना, सेबोनले अब के गर्छ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफूहरुको सुरक्षा खतरा बढेको बताएका छन् । ‘मानिसहरु व्यक्तिगत रुपमा धम्की दिन थालेका छन्,’ उनले भने, ‘ज्यानकै सुरक्षा खतरा हुन थाल्यो ।’ बोर्डले नेप्सेमा सूचीकृत भएका ५१ वटा कम्पनीको शेयर जोखिमपूणर् अवस्थामा पुगेको भन्दै त्यस्ता शेयरमा विवकेपूणर् हिसाबले लगानी गर्न १ असारमा आग्रह गरेको थियो ।
बजारमा भित्रिसूचनाका आधारमा कारोबार हुने, सर्कुलर कारोबार गर्ने वा कर्नरिङ गरेर कुनै सेयरको मूल्य कृत्रिम रुपमा उचाल्ने काम भएको पाइए त्यस्ता घटनामा कारबाही चलाउने भनेको थियो । एउटै कम्पनीको सेयरमा एक वर्षभित्र ७-८ गुणासम्म पूँजीगत लाभ भएपछि बोर्डले यस्तो सूचना जारी गरेको हो ।
बोर्डले प्रकाशित गरेको सूचीका कतिपय कम्पनीले जीवनकालमा कहिल्यै पनि प्रतिफल दिन नसक्ने खालका छन् । त्यस्ता कम्पनीको सेयरको भाउ समेत ५०० हाराहारी पुग्न थालेपछि बहुसंख्यक नयाँ लगानीकर्ता मर्कामा पर्नेभन्दै बोर्डले सचेत गराएको थियो ।
‘भोलि बजार क्र्यास भयो भने धेरै लगानीकर्ताले सम्पत्ती गुमाउने अवस्था आउँछ’ अध्यक्ष ढुंगाना भन्छन्, ‘त्यस्तो दुर्घटना नआओस् भनेर सचेतमात्र गराइएको हो ।’ थप अनुसन्धान गरेर कारबाही गर्ने पाटो अलग्गै भए पनि हाललाई लगानीकर्ता सचेत गर्न खोजिएको उनले बताए । ‘तर यो घटनालाई गलत रुपमा प्रचार गरियो’ उनले भने ।
लगानीकर्ताका संघका नाममा खुलेका केही गैरसरकारी संस्थाका प्रतिनिधीले बोर्डको उक्त निणर्यमाथि प्रश्न उठाउँदै अख्तियार र अर्थ मन्त्रालयमा उजुरी गरिएको बताएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अधिकारीहरु पनि बोर्डको उक्त कदममा सहमत छैनन् । नेप्सेका प्रमुख कार्यकारी अधिकृतले नियामक निकायको उक्त कदमको सार्वजनिक रुपमै विरोध गरिरहेको समाचारहरु आएका छन् ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले धितोपत्र बोर्डको निणर्यको विरोधमा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘सेयर बजार (खासगरी दोस्रो बजार)का लगानीकर्ता नर्सरी पढ्ने केटाकेटी होइनन् । उनीहरुलाई राम्रो नराम्रोको ज्ञान हुन्छ, हुनुपर्छ । जोरी खोज्ने साँढेको कहिलेकाहीँ सिङ भाँचिन्छ । खेलको नियम मिचिएको भए कानून अनुसार दण्ड गर्ने हो । मूली उखेल्लिएपछि अरु पनि उखेल्लिन्छन् ।’
चौतर्फी विरोधमा घेरिएपछि बोर्डले हाललाई ‘पर्ख र हेर’ को नीति लिने अध्यक्ष ढुंगाना बताउँछन् । ‘यो घटनापछि बजार कसरी अघि बढ्छ भनेर २-४ दिन हेरौं, त्यसपछि कसरी अघि बढ्ने भन्ने निक्र्योल हुन्छ’ उनले भने ।