मलेसियाको एस्ट्रो टीभी ‘कपि’ गरेर भित्रिएको डिसहोमले यसरी गर्दै छ व्यवसायिक ‘डाइभर्जन’

काठमाडौं । प्रभु डिजिटलले हालैमात्र आफ्ना ग्राहकलाई औपचारिक रुपमै डिसहोममा विलय भएको सूचना प्रसार गरेको छ । उसका इण्टरनेट ग्राहकहरुलाई अब ‘डीएच फाइबरनेट’ मा बदलिएको जनकारी गराइरहेको कम्पनीले जनाएको छ ।
केही दिनअघि यी दुई कम्पनीबीच खरीद सम्झौता भएको थियो । भर्खरैमात्र फाइबर इण्टरनेट सेवा सुरु गरेको डिसहोमले लगत्तै प्रभु डिजिटल खरीद गरेको हो । पछिल्लो समय डिसहोम र सीजीजस्ता कम्पनीले फिक्स्ड इण्टरनेटमा उपस्थिति बढाएपछि इण्टरनेट सेवा प्रदायक कम्पनीहरुमा प्रतिस्पर्धा चुलिएको छ ।
उक्त खरीद सम्झौता कति रकमका गरिएको हो भन्ने खुलाईएको छैन । प्रभू र आईएमई समूह सुरुआति चरणदेखिकै ब्यापार साझेदार हुन् । प्रभू समूहका देवी भट्टचनले डिसहोममा सुरुदेखि नै लगानी गर्दै आएका छन् । यी दुई समूह आपसमा मिलेर नयाँ कम्पनी खोल्ने र पछि प्रभु आईएमई समूहबाट अलग्गिँदै जाने प्रबृत्ती देखिएको थियो । तर यस घटनामा यी दुई घरानाको ब्यापारिक साझेदारी जोडिएको छ ।
डिसहोमले शेयर बजारमा सूचिकृत भएर सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रक्रिया अघि बढाएपछि यी दुई कम्पनीबीच खरीद सम्झौता भएको छ । यही कारण कतिपयले यसलाई विल्कुलै ‘किनबेच’को रुपमा भन्दा पनि एउटा व्यवसायिक ‘डिलिङ’को रुपमा मात्रै हेरेका छन् । उनीहरुका अनुसार डिसहोममा पनि शेयर स्वामित्व भएका भट्टचनले आईपीओ जारी गर्नुअघि नै कम्पनी एकीकरण गर्न चाहेको हुनसक्छ ।
पछिल्लो समय बढ्दो प्रतिस्पर्धाले पनि दुई साझेदार व्यवसायिक घरानाबीच ‘एक भएर’ जाने सहमति जुटेको हुनसक्छ । यद्यपि, दुबै कम्पनीले यस सम्झौतामार्फत् डिसहोममा प्रभू डिजिटल विलय भइसकेको बताएका छन् ।
यसरी सुरु भएको थियो डिसहोम
नेपालमा डीटीएच (डाइरेक्ट टु होम) टेलिभिजन ल्याउने व्यक्ति हुन्, आईएमई समूहका हेमराज ढकाल । उनी आईएमईको स्थापनापछि रेमिट्यान्स व्यवसाय गर्न लामो समय मलेसिया बसे । त्यही बेला मलेसियामा एस्ट्रो ब्राण्डको डीटीएच स्याटेलाइट टेलिभिजन निक्कै चलेको थियो । नेपालमा केबल टेलिभिजनहरुले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न नसकेको र कतिपय अवस्थामा उनीहरुको गुणस्तर समेत कमजोर रहेको देखेका हेमराजले नेपालमा डीटीएच प्रविधि भित्र्याउने पहल थाले ।
यसरी डीसी (डाइरेक्ट कनेक्ट) नेपाल ब्राण्डमा स्याटेलाइट टेलिभिजनको सेवा सुरु गरे । यसमा आईएमईसँगै प्रभु समूहको पनि लगानी थियो । त्यसलगत्तै कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाको समूहले होमटीभी नामक अर्को कम्पनीमार्फत् डीटीएच टेलिभिजनको सेवा सुरु गरे । मानिसहरु यो नयाँ प्रविधिप्रति आम रुपमा विश्वस्त नहुँदै दुई कम्पनीको बजार प्रतिस्पर्धाले दुबैलाई धरासायि बनाइदियो ।
त्यसपछि डीसी नेपालले होमटीभीसँग मर्जरको प्रस्ताव लग्यो । उक्त मर्जरको प्रस्ताव बोकेर हेमराजका दाइ अर्थात् आईएमई ग्रुपमा अध्यक्ष चन्द्र ढकाल र प्रभू ग्रुपका अध्यक्ष देवी भट्टचन दुबै जना कैलाश सिरोहिया कहाँ पुगेका थिए । यसरी दुई कम्पनी मर्ज भएपछि ‘डिसहोम’ जन्मिएको हो । डुब्नै लागेका यी दुई कम्पनीलाई मर्जरमा लगेर व्यवसायिक सफलतामा डोर्याउन महत्वपूर्ण भूमिका खेलेका हेमराजले अहिले प्रभुलाई विलय गराएर इण्टरनेट सेवामा उपस्थिति बढाउन खोजेका छन् ।
क्लिनफीडको मार थेग्न नसकेपछि इण्टरनेटतर्फ
पछिल्लो समय डीटीएच टेलिभिजनका ग्राहक घट्दै गएपछि डिसहोमलाई व्यापारमा ‘डाइभर्जन’ खोज्नु अत्यावस्यक भइसकेको थियो । स्रोतका अनुसार पछिल्लो समय नेपालमा ‘क्लिन फीड’ अर्थात् विज्ञापनरहित टेलिभिजन सञ्चालन गर्नुपर्ने भएपछि थुप्रै भारतीय च्यानलहरु डिसहोमबाट बाहिरिएका थिए । त्यसको असर तराई क्षेत्रमा हजारौं संख्यामा डिसहोम बन्द गरिएको छ । यसको असर ब्यापारमा पर्न थालेपछि डिसहोमले इण्टरनेट सेवामा उपस्थिति बढाएको हो ।