राष्ट्रिय वाणिज्य बैंकको निजी बैंकलाई टक्कर, सीईओ श्रेष्ठको कार्यकालमा कति प्रगति ? « Arthapath.com
३० जेष्ठ २०७९, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको निजी बैंकलाई टक्कर, सीईओ श्रेष्ठको कार्यकालमा कति प्रगति ?



काठमाडौं । सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक निजी बैंकलाई टक्कर दिने अवस्थामा पुगेको छ । किरणकुमार श्रेष्ठ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएपछि बैंक निजी बैंकलाई पनि टक्कर दिने अवस्थामा पुर्याएका हुन् ।

उनी सो बैंकको सीईओ बनेपछि हरेक सूचकमा अब्बल देखिएको हो । वि.स २०७२ साल चैतमा बैंकको सीईओका रुपमा नियुक्त भएपछि बैंकले नाफा, पूँजी, निक्षेप संकलन, कर्जा लगानी लगायतका सूचकमा राम्रो प्रगति गरेको तथ्यांकले देखाउँछ ।

विगत ७ बर्षदेखि बैंकको सीईओमा कार्यरत श्रेष्ठले आफु बैंकको सीईओ बनेपछि सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा पुर्याएका छन् भने सर्वसाधारणलाई सेवा प्रवाहमा पनि विश्वासिलो बैंकका रुपमा स्थापित गराएका छन् ।

सूचांकमा राम्रो फड्को मारेपछि बैंकको बोर्डले पनि उनलाई विश्वास गर्दै सीईओमा दोहोर्याएको थियो । सीईओ श्रेष्ठले पनि बोर्डको विश्वासलाई आत्मसाथ गर्दै सूचकमा अब्बल बैंकमा रुपमा चिनाएका छन् ।

बैंकले गत आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक बर्ष २०७६/०७७ मा बैंकले २.५० प्रतिशत नगद र २ प्रतिशत बोनस गरी कूल ४.५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक बर्ष २०७५/०७६ मा बैंकले १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । विगतका वर्षहरुमा सेयरधनीलाई लाभांश दिन नसक्ने बैंकमा रुपमा चिनिएको राष्ट्रिय वाणिज्य बैंक सीईओ श्रेष्ठले नेतृत्व सम्हालेपछि भने नाफा वितरण गर्ने टप बैंकका रुपमा आफुलाई परिचित गराएको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब ६१ करोड ६७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन वाणिज्य बैंकहरुमध्ये छैटौं स्थान हो । गत आर्थिक बर्षमा २७ वटै वाणिज्य बैंकहरुमध्ये धेरै लाभांश वितरण गर्नेमा दोस्रो बैंक बनेको थियो ।

यस्तै, श्रेष्ठ सीईओ नियुक्त हुँदा आर्थिक बर्ष २०७१/०७२ को चौंथो त्रैमासमा बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ रहेको थियो तर, चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म पुग्दा चुक्ता पूँजी बढेर ६२ प्रतिशत बढेर १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ कायम भएको छ ।

आर्थिक बर्ष २०७१/०७२ मा बैंकको जगेडा कोष १ अर्ब ६९ करोड ७२ लाख ६९ हजार रुपैयाँ ऋणात्मक रहेकोमा हाल जगेडा कोष १६ अर्ब ४२ करोड ३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । यसले पनि बैंकले यो अवधिमा राम्रो प्रगति गरेको तथ्यांकले देखाउँछ ।

यस्तै, बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि उच्च रुपमा वृद्धि गरेको छ । श्रेष्ठ सीईओ हुनु अघि १ खर्ब २४ अर्ब २२ करोड १६ लाख ६३ हजार रुपैयाँ निक्षेप रहेकोमा हाल बैंकको कुल निक्षेप २ खर्ब ४५ अर्ब १९ करोड ५९ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकले कर्जा लगानीमा पनि राम्रो प्रगति गरेको छ । उनी सीईओ नियुक्त हुँदाको बखत १ अर्ब ३० करोड ५३ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी रहेको बैंकले हालसम्म २ खर्ब ८ अर्ब १९ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

को हुन् सीईओ श्रेष्ठ ?

संखुवासभाको चैनपुरमा जन्मिएका सीईओ श्रेष्ठ सरकारी स्वामित्वकै नेपाल बैंकको महाप्रबन्धकबाट अवकास पाएका व्यक्ति हुन् ।

नेपाल बैंकमा पनि ३० वर्ष काम गरेको उनीसँग अनुभव छ । झण्डै ४ दशक बैंकिङ्ग अनुभव भएका श्रेष्ठले नेपाल बैंक लिमिटेडबाटै आफ्नो बैंकिङ्ग करिअर सुरु गरेका हुन् ।

वि.स. २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट जनप्रसाशन विषयमा स्नातकोत्तर गरेका सीईओ श्रेष्ठले वि.स. २०३५ सालमा वाणिज्यशास्त्रमा स्नातक तह उतीर्ण गरेका हुन् ।

सीईओ श्रेष्ठले वि.स २०४३ सालबाट आफ्नो बैंकिङ्ग करियर सुुरु गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्