विदेश घुम्न जाने सोचमा हुनुहुन्छ ? बार्षिक चार लाख आम्दानी र बैंकमा दुई लाख हुनुपर्नेछ (पूर्णपाठ) - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विदेश घुम्न जाने सोचमा हुनुहुन्छ ? बार्षिक चार लाख आम्दानी र बैंकमा दुई लाख हुनुपर्नेछ (पूर्णपाठ)



काठमाडौं । नेपाल सरकारले भिजिट भिसामा विदेश भ्रमणमा जाने यात्रुको लागि कडाई गर्ने भएको छ । यात्रु भिसाको दुरुपयोग बढ्दै गएपछि सरकारले भिजिट भिसालाई नियमन गर्न थालेको हो ।

गृहमन्त्रालयले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । कार्यविधि अनुसार पर्यटक भिसामा जाने नेपाली नागरिकले अनिवार्य रुपमा बार्षिक चार लाख रुपैयाँ आम्दानी गरेको प्रमाण देखाउँनुपर्नेछ भने दुई लाख रुपैयाँ बैंकमा व्यालेन्स भएको प्रमाण पनि पेश गर्नुपर्नेछ । साथै आम्दानीका आधारमा सरकारलाई कर तिरेको प्रमाण र दुईतर्फी हवाई टिकट, गन्तब्य मुलुकको होटलको वेवसाइट खुल्ने गरी होटल बुकिंगको प्रमाण पेश गर्नुपर्नेछ ।

मन्त्रालयले कार्यविधि जारी गरेको ६० दिन पछि लागू हुने जनाएको छ । त्यस्तै, पहिलो चरणमा खाडी मुलुक, मलेशिया, अफ्रिकीमुलुकहरु र दक्षिण अमेरिकी मुलुकहरुको लागि प्रयोग गरिनेछ ।

सरकारी कामको शिलशिलामा विदेश भ्रमण गर्ने सरकारी वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेको अर्धसरकारी निकायका प्रतिनिधिले विदेश भ्रमणकामा जाँदा सरकारी वा अर्धसरकारी निकायले मनोनयन गरेको पत्र बुझाउनु पर्नेछ । त्यस्तै, विदेश भ्रमणका लागि सरकारी वा अर्धसरकारी निकायले मनोनयन गरेको पत्र, दुईतर्फी हवाई टिकट र कर्मचारीको परिचयपत्र पेश गर्नुपर्नेछ । जनप्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका केन्द्रिय पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीले भने जनप्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका केन्द्रिय पदाधिकारी वा राष्ट्रसेवकको परिचय खुल्ने परिचयपत्र, दुईतर्फी हवाई टिकट, गन्तब्य मुलुकको होटलको वेवसाईट खुल्ने गरी होटल बुकिंगको प्रमाण वा गन्तब्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बर सहितको विवरण पेश गर्नुपर्नेछ ।
पत्रकार तथा सञ्चारगृह सञ्चालकले सूचना विभागबाट जारी भएको पत्रकार परिचय पत्र वा सञ्चार गृहले प्रदान गरेको सञ्चालक रहेको परिचयपत्र, सम्बद्ध सञ्चार गृहले प्रदान गरेको परिचयपत्र, आफू सम्बद्ध सञ्चार गृहले सूचना संकलनका लागि मनोनयन गरेको पत्र, दुईतर्फी हवाई टिकट र गन्तब्य मुलुकको होटलको वेवसाइट खुल्ने गरी होटल बुकिङ्गको प्रमाण पेश गर्नुपर्नेछ ।

नियमित यात्रुको हकमा भारत, मलेशिया र खाडी मुलुक बाहेक कम्तिमा दुई अन्य मुलुकको भ्रमण गरेको अभिलेख हुनुपर्नेछ । उच्च शिक्षा हासिल गरेकाको हकमा भारत, मलेशिया र खाडी मुलक बाहेक अन्य मुलुकमा कम्तीमा दुई बर्ष बसेको देखिने अभिलेख, दुईतर्फी हवाई टिकट र गन्तब्य मुलुकको होटलकोवेवसाईट खुल्ने गरी होटल बुकिंगको प्रमाण वा गन्तब्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बर विवरण पेश गर्नुर्नेछ ।


प्रतिक्रिया दिनुहोस्