देश विकास गर्न अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउनुपर्छः न्यायाधीश सिन्हा
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुन सम्बन्धी तालिमको समापनमा न्यायाधीश सिन्हाले उक्त कुरा बताएका हुन् ।
नेपालले खुला अर्थतन्त्रको नीति अबलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनु पर्ने धारणा राखे । अर्थतन्त्रका स–सानाविषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यक औँल्याए । उनले अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको भन्दै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने बताए । अर्थतन्त्रसँग सम्बन्धित कानूनसँग जोडिएका शब्दको अर्थ भने अझै गम्भिर हुने उल्लेख गरे । यस्ता सबैमा सबैजना सचेत भएर आ–आफ्नो क्षेत्रबाट देशको अर्थतन्त्र विकासमा भूमिका खेल्नु पर्ने न्यायाधीश सिन्हाको भनाइ छ ।
कार्यक्रममा नेपालबारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले कानून व्यवसायी वकालत गरेर पैसा कमाउने मात्रनभई समाजको अभियान्ता पनि भएको बताए । ‘कानून व्यवसायी भनेको अभियान्ता पनि हो । व्यवसायीले पैसा कमाउने ध्येय मात्रै राखेको पनिहुँदैन’उनले भने ‘उनीहरुको समाजप्रतिको दायित्वपनि हुन्छ ।’ दायित्व पुरा गर्ने सन्दर्भमा बार सँधै अग्रसर रहेको धारणाउनले राखे।
अबको युग आर्थिक युग भएको भन्दै अर्थतन्त्र भित्रनिकै कानूनी जटिलता रहेको तर्क गरे । त्यस्ता कानूनी जटितलाको विषयमा कानून व्यवसायी मात्रै नभएर सञ्चार माध्यमले पनिनिकै ध्यानदिन आवश्यक रहेको बताए । ‘हामीले प्रयोग गर्ने शब्दमा धेरै नै महत्व रहेको हुन्छ, त्यसभित्र केही जटिलता पनि हुन्छ’ उनले भने ‘यस्ताविषय सहजै बुझ्न र अरुलाई बुझाउनका लागि कानूनलाई उदृत गरियो भने धेरै राम्रो हुन्छ ।’ त्यसले उठान गरेका विषयको महत्व झल्कने अध्यक्ष घिमिरेको तर्क छ ।
कार्यक्रममा अध्यक्ष घिमिरेले देश, जनताको श्री वृद्धिमा बारले सक्ने हरेक क्षेत्रबाट सहयोग गर्ने बताए । कार्यक्रममा बारकी महासचिव अन्जिता खनालले आगामी दिनमा पनि सेजन सँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् । ‘८ दिने तालिम पूर्ण होइन, यो कार्यक्रमले सञ्चारकर्मीहरु विषयमा विज्ञ बन्नुहुन्छ भन्ने होइन’उनले भने ‘यस्ता तालिमले सचारकर्मीले उठाउने विषयहरु कानूनी रुपमा कसरी जोडिन्छन् भन्ने जानकारी लिन केही सहयोग भएको छ ।’
कतिपय समयमा अदालतले गर्ने फैसला र सञ्चार माध्यममा आउने समाचारमा केही फरक पर्ने भएको स्मरण गर्दै सञ्चारकर्मीले कानूनीविषयमा बढी जानकारी राख्यो भने वास्तविक सूचना सम्प्रेषण हुने धारण राखिन् । उनले आगामी दिनमा पनि सेजनसँग मिलेर यस्ता क्षमता अभिवृद्धि लगायतका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा सेजनकाअध्यक्षजनार्दन बरालले सेजन र बारले आगामी दिनमा पनि क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने बताए । यो तालिमले सञ्चार माध्यमले उठाउने विषयमा देखिने कानूनी जटिलतालाई सम्बोधन गर्न केही सहजहुने अध्यक्ष बरालले बताए ।
८ दिने तालिममा बैंक तथा वित्तीय कानून, विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार, बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, मिडिया सम्बन्धी कानून, सार्वजनिक खरिद कानून, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित ऐनका बारेमा विभिन्न वरिष्ठ अधिवक्ताहरुले तालिम दिएका छन् ।
तालिम वरिष्ठ अधिवक्ताहरु मेघराज पोखरेल, सविता भण्डारी बराल, डा. गान्धी पण्डित,मात्रिका निरौला, शिवप्रसाद रिजाल तथा अधिवक्ताहरु अमरजिवी घिमिरे,सजनबरसिंह थापा, भरतकुमार लकाई, राजकुमार सुवाल, सन्तोष तिवारी, सेमन्त दाहाल, दीपक घिमिरे, धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम दिएका थिए ।
















