घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल
काठमाडौं। वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए ।
“स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौँ, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिन्छ”, उनले भने ।
दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्नुुहुँदै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुन सक्ने सुनाए ।
वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताउछन् । महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको खनालले सुनाए । अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् ।
















