नेपालमा वैदेशिक लगानीः १९ अर्ब ५१ करोड भित्रियो
काठमाडौं । आर्थिक वर्ष २०७/७८ मा नेपालमा १९ अर्ब नौ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीबाट भित्रिएको छ । आव २०७७/७८ मा प्रतिबद्धता भएको भन्दा ६०.६ प्रतिशतले बराबर रकम भित्रिएको हो । ३२ अर्ब १७ करोड बराबर रकम भित्र्याउने प्रतिबद्धतामा १९ अर्ब ५१ करोड रूपैयाँ भित्रिएको हो ।
नेपालमा विभिन्न ५५ मुलुकबाट वैदेशिक लगानी भित्रिँदै आएको छ । जसमा नेपालले भित्र्याउने प्रत्यक्ष वैदेशिक लगानीमध्ये भारतबाट धेरै लगानी भित्रिने गरेको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण अनुसार अघिल्लो वर्षको तुलनामा यो १.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । यसरी भित्रिएको रकम विभिन्न कम्पनीमा चुक्ता पुँजीको रूपमा एक खर्ब २२ अर्ब, सञ्चितिको रूपमा ७१ अर्ब ९८ करोड र ऋणको रूपमा ३३ अर्ब रूपैयाँ छ ।
यसमध्ये भारतको हिस्सा करिब ३४ प्रतिशत छ । भारतबाट नेपालले भित्र्याएको प्रत्यक्ष वैदेशिक लगानी ७५ अर्ब ८० करोड रूपैयाँ पुगेको छ । त्यसपछिको स्थानमा चीन छ । नेपालमा चिनको प्रत्यक्ष वैदेशिक लगानी ३३ अर्ब रूपैयाँ पुगेको छ।
नेपालले प्राप्त गर्ने कुल वैदेशिक लगानीमा ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भइरहेको छ । औद्योगिक क्षेत्रमा, ऊर्जा, ग्यास स्टिम लगायतमा सबैभन्दा धेरै लगानी भित्रिने गरेको छ ।
भारतबाट प्राप्त प्रत्यक्ष वैदेशिक लगानी ऊर्जा, उत्पादनमूलक क्षेत्र र वित्तीय क्षेत्रमा अधिक छ। यी क्षेत्रमा क्रमशः ४१.६ प्रतिशत, ३५.९ प्रतिशत, १९.६ प्रतिशत छ। यस्तै चीनबाट प्राप्त वैदेशिक लगानीमध्ये ऊर्जामा ६३.९ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ४४.७ प्रतिशत, सूचना तथा सञ्चारमा ६.९ प्रतिशत छ। प्रत्यक्ष वैदेशिक लगानी ल्याउन स्वीकृति पाएका छ सय चार संस्थामध्ये एक सय ९७ वटाको राष्ट्र बैंकले सर्वेक्षण गरेको हो।देशमा वैदेशिक सम्पत्ति १४ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ भने दायित्व १४ खर्ब एक अर्ब छ ।
















